मकर सङ्क्रान्ति अवसरमा वराहक्षेत्रस्थित कोका- कौशिकी सङ्गम स्थलमा 'मकर स्नान' गरी लक्ष्य हवनसहित वराह भगवानको पूजा अर्चना गरिएको छ ।

धार्मिक शास्त्रीय मान्यताअनुसार वराहक्षेत्रस्थित कोका- कौशिकी सङ्गम स्थलमा मकर स्नान गरे पूण्य प्राप्त हुने र गति परिने विश्वास गरिन्छ ।

धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

Makar snan puja barahakshetra

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।
गए राति वराह भगवानको मन्दिर क्षेत्रमा विभिन्न पुराणको पारायण, ग्रह पूजा तथा ग्रह शान्ति, भजनकीर्तन, प्रवचनलगायत आयोजन गरी रातभर भक्तालुहरु जाग्राम बसेका थिए । प्रात: मकर स्नान गरी वराह भगवानको पूजा अर्चना गरे मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको वराह भगवानका सेवक पण्डित योगेश भण्डारी 'वराहक्षेत्र' ले जानकारी दिए । 

वराहक्षेत्रमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् ।
Barahakshetra Mandir