मोरङको सुन्दरहरैंचा–१० मुनालझोडामा एउटा जङ्गली हात्ती गोली हानेर मारेको अवस्थामा भेटिएको छ । अन्दाजी १२ वर्षको भाले हात्तीलाई गोली हानेर मारेको अवस्थामा सोमबार मृत भेटिएको हो ।

डिभिजन वन कार्यालय सलकपुरका अधिकृत लालबहादुर माझीका अनुसार हात्तीको देब्रे खुट्टामाथि र घाँटीमा गोली लागेको छ । हात्तीलाई सिकारीले मारेको हुनसक्ने आशङ्का वन अधिकृतको छ । ‘सिकारीले हात्ती मारेर पुछर लगेको पाइएको छ । यो पक्कै सिकारीको काम हो’–माझीले भने । यो जङ्गलमा बँदेल, मृग र हरिणलगायतका जङ्गली जनावरको सिकार गर्ने सिकारीको पनि बिगबिगी छ ।’

पछिल्लो एक महिनादेखि चारकोसे जङ्गलमा दुई दर्जनबढी जङ्गली हात्ती बसेर गाउँमा आतङ्क मच्चाउँदै आएका छन् । त्यसैक्रममा हात्तीको आक्रमणबाट झापामा चार र सुनसरी तथा मोरङमा एक–एक जनाको ज्यान गइसकेको छ ।

घटनास्थलमा डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरे पुगेर अनुसन्धान सुरु गरेका छन् । डिभिजन वनका प्राविधिक टिमले हात्ती मारेको घटनाको अनुसन्धान सुरु गरेको उनले बताए । ‘सूक्ष्म तरिकाले घटनाको अनुसन्धान हुनेछ’ उनले भने, ‘नेपालमा संरिक्षत वन्यजन्तुको सिकार र तिनका अङ्गको ओसार–पसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’

मोरङका वन क्षेत्रहरूबाट पछिल्लो समय वन्यजन्तुको चोरी–सिकारी व्यापक रूपमा बढेको छ । वन क्षेत्रमा रहेको दुर्लभ वन्यजन्तुको संरक्षण गरिनुपर्नेमा यहाँका सामुदायिक, साझेदारी र पूर्व–पश्चिम राजमार्गमा रहेको चारकोसे वन क्षेत्रबाट वन्यजन्तुको चोरी–सिकारी व्यापकरूपमा बढेको पाइएको हो ।

मोरङको कानेपोखरी, लेटाङ, केराबारी,  बेलबारी, पथरी र उर्लाबारीलगायतका क्षेत्रहरूमा रहेका वनहरूबाट अहिले मृग, जरायो, चित्तल, हरिण, बँदेलजस्ता वन्यजन्तुको चोरी–सिकारी हुने गरेको छ भने बेला बखत दुर्लभ रेडपाण्डा, निलगाईलगायतका वन्यजन्तुहरूको पनि अवैध व्यापार हुने गरेको छ ।

कानेपोखरी गाउँपालिकाभित्र पर्ने ग्रामीण सुधार सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी गर्ने क्रम झन् बढेको स्थानीय बताउँछन् । सम्बन्धित निकाय मौन रहँदा वन्यजन्तुको सिकार यहाँका सिकारीहरूले गर्दै आएका हुन् । यसअघि पनि दुईओटा हरिण सिकारीको गोली लागेको अवस्थामा भेटिएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित शुक्रबारेमा गोली लागेको अवस्थामा करिब दुई वर्षको पोथी हरिण घाइते अवस्थामा  फेला परेको थियो । गर्भवती सो हरिणको तिघ्रामा गोली लागेको थियो ।

सिकारीको गोली लागेपछि गाउँ पसेको हरिण कुकुरले खेदाउँदै गर्दा गाउँलेहरूले फेला पारी नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले घाइते हरिणको उद्धार गरी उपचारको लागि कानेपोखरी गाउँपालिका ल्याएको थियो । जीवित हरिण कानेपोखरी पशु शाखाले उपचार गर्दागर्दै केहीछिनमै मृत्यु भएको थियो ।

वन क्षेत्रमा हुने यस्ता अवैध क्रियाकलाप नियन्त्रण गरी समग्र वन्यजन्तुको संरक्षण, सम्बर्धन र व्यवस्थापन गरिनु पर्नेमा अहिले चोरी–सिकारी बढेको हो । वनभित्र रहेका विभिन्न प्रजातिका वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि बढेको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा सिकारीबाट ८ वटा मृग घाइते भएको डिभिजन वन कार्यालय मोरङको अभिलेखमा देखिन्छ । यस्तै निर बिरालो २, गिद्ध, सिलु बिरालो, कछुवा, भुँडीफोर निलगाई सिकारीको गोली लागेर १–१ वटा घाइते अवस्थामा भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा तस्कर समूहले वन्यजन्तुको सिङ तस्करी गर्ने क्रममा प्रहरीले दुई थान हरिण र चित्तलको सिङ बरामद गरेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए । आर्थिक वर्ष २०७८÷०७९ मा सुगा पंक्षी २२ थान, हरिणको सिङ ५ थान, सुनगोहोरो बरामद गरेको उनले बताए ।

के छ कानूनी व्यवस्था ?
नेपालमा संरिक्षत वन्यजन्तुको सिकार र तिनका अङ्गको ओसार–पसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र साइटिस महासन्धि १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।

नेपालले प्रकृति संरक्षणका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्र तोकेको छ । राष्ट्रिय निकुञ्ज १२ वटा, सिकार आरक्ष एउटा, संरक्षण क्षेत्र ६५ वटा, मध्यवर्ती क्षेत्र १३ वटा र सिमसार १० वटा गरी कुल ३४ हजार ८ सय ५९ वर्ग किलोमिटर क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित छ ।