अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औं खाना महोत्सव आजदेखि सुरु भएको छ। होटल एसोसिएसन भेडेटारद्वारा  आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ। 

कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ  गर्दै यस्ता महोत्सवले प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्तः गरेका छन्।  महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन्।  स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन्।

महोत्सवमा रु एक करोड बराबरको  कारोबार  हुने अनुमान गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी  दिएका छन् । भेडेटारका होटलमा महोत्सव अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिका सचिव लालबहादुर श्रेष्ठ (रमेश) ले जानकारी दिएका छन्।हरेक वर्षझैँ महोत्सवमा  भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन्। उनीहरुले स्थानीय स्तरमा उत्पादित खानपान र परिकारका स्वाद लिन पाउनेछन्। 

साथै पर्यटकहरुले साँगुरीगढी, पाथीभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, ध्वजेडाँडा शूलीकोट, मोरङे राजाको दरबार, खिबेकलुङलगायत स्थान घुम्न र जिपलाइन, प्याराग्लाइडिङलगायत साहसिक खेलको आनन्द लिनसक्नेछन्। भेडेटारमा जाडोमा दैनिक दुई हजारसम्म र गर्मीमा सात हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको होटल एसोसिएसन भेडेटारको तथ्याङ्क छ।