धरानमा कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्ती मनाइएको छ । धरान–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणिको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको हो ।

नेपाली साहित्यको श्रीवृद्धिमा कविशिरोमणि  पौड्यालले अतुलनीय योगदानको उपस्थित वक्ताले चर्चा गरे ।

कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द तुम्बाहाङले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए । प्रा डा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको चर्चा गरे । प्रा डा गोपाल भण्डारीले नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि प्राप्त गरेको बताए ।

कवि शिरोमणिका कवितामा मानव जीवनका विविध पक्ष समेटिएका उनले उल्लेख गरे । कार्यक्रममा प्रा डा खेम दाहाल, प्रा डा वंशीधर कट्टेललगायतले कविशिरोमणिका रचना वाचन गरेका थिए।

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताए ।