वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ मा रहेको आदर्श मा.वि.को चतरा बसपार्क स्थित जग्गा अतिक्रमण भएको पाइएको छ ।

चतरा बसपार्क क्षेत्रभित्र मात्र होइन, चतरा बजारको खोल्सीपारिसमेत तीन जनाले अतिक्रमण गरेर घर बनाएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतमका अनुसार चतरा बजारको खोल्सीवारि बसपार्क क्षेत्रमा बसपार्कको जग्गामा विभिन्न छाप्रा र पसलहरू रहेका छन् । खोल्सीभन्दा पारि स्थानीय सुरेन्द्र राई, नारायण शाक्य र मीनकाजी शाक्यले स्कुलको जग्गा अतिक्रमण गरेर घर बनाएका छन् । उनीहरू तीन जनालाई पटक–पटक पत्राचार गर्दा र फोन गरेर बोलाउँदा पनि अटेर गर्ने गरेको र छलफलमा उपस्थित नहुने गरेको अध्यक्ष गौतमले बताए ।

विद्यालयको नाममा चतरामा १६ कठ्ठा १९ धुर जग्गा रहेको छ । आइतबार बसेको विद्यालय व्यवस्थापन र जग्गा व्यवस्थापन समितिको बैठकले अतिक्रमण गरी बनाइएका घर, टहरा हटाएर विद्यालयले नै टहरा निर्माण गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए । उनले अब अतिक्रमित जग्गाको नक्साङ्कन गरेर व्यवस्थापन गरिने बताए । उनका अनुसार जग्गामा विद्यालयले पक्की टहरा बनाएर पुरानै पसल गरेका व्यवसायीलाई भाडामा लगाउने नीति लिएको छ ।

पूर्व प्रअले जग्गा बेचेको आरोप
जग्गा अतिक्रमणको विषयमा बसेको विद्यालय र जग्गा व्यवस्थापन समितिको बैठकमा आदर्श माविका पूर्व प्रधानाध्यापक बद्रीनारायण चौधरीले व्यापारीलाई जग्गा बेचेको आरोप लगाइएको छ । जग्गा व्यवस्थापन समितिका सदस्य युवराज बस्नेतले बैङ्कमा रकम जम्मा गर्न लगाएर जग्गा व्यापारीलाई दिएको आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले  विषय गम्भीर भएकोले यसको सत्यता बुझ्न पूर्व प्रअ चौधरीसँग छिट्टै नै छलफल गरिने जानकारी दिए ।

विद्यालयको जग्गाको समस्या समाधानको लागि नगरपालिकासँग समन्वय गरी सीमाङ्कन र व्यवस्थापन गरिने गौतमले बताए । गत बिहीबार बसेको बैठकमा वडा नं. १ र २ का अध्यक्ष किसन थापा मगर, होमप्रसाद गौतमलगायत स्थानीय राजनीतिक दल, सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको भेलाले जग्गा अतिक्रमण गर्नेहरूलाई आइतबार बोलाएर छलफल गर्ने बताइए पनि सम्बन्धित कोही पनि नआएको गौतमले बताए  ।

वराहक्षेत्र–२ का निवर्तमान अध्यक्ष हरिकृष्ण भट्टराईले तत्कालीन समयमा विद्यालय चलाउन रकम अभाव भएपछि व्यापारीबाट रकम लिएर जग्गा अस्थायी भोगचलन गर्न दिएको हुनसक्ने बताए । यदि विद्यालयले बेचेको हो भने खोजबिन हुनु पर्ने उनले बताए ।