जनसहभागितामा निर्मित धरान–१५ बाँझगरास्थित एक कालोपत्रे सडकको नाम परिवर्तन गरिएको छ ।

यस मार्गको नाम कच्चीबाटो हुँदा प्राविधिकले श्रद्धाञ्जली मार्ग नाम राखिदिएपछि  कालोपत्रे सडक निर्माण सम्पन्नपश्चात् शुक्रबार उद्घाटनको क्रममा नाम परिवर्तन गरी श्रद्धामार्ग राखिएको छ ।

 उक्त सडकको उद्घाटन वडाध्यक्ष नरेशकुमार इवारमले गरेका थिए । वडाध्यक्ष इवारम र स्थानीय उपभोक्ताको सहमतिमा नाम परिवर्तन गरेर श्रद्धामार्ग राखिएको हो । ३६ लाख रुपैयाँको कुल लागतमा निर्माण भएको सडक चार सय ५० मिटर लम्बाइ र २० फिट चौडाइ रहेको छ ।

सडक निर्माणमा उपभोक्ता समूहले कुल लागतको ५० प्रतिशत रकम सङ्कलन गरेको कोषाध्यक्ष दीपककुमार राईले जानकारी दिए । गत मङ्सिर ७ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा निर्णय पारित भए अनुसार नाम परिवर्तन गरिएको छ । नाम मृत व्यक्तिको नाममा सडक बनेको देखिएकाले स्थानीय उपभोक्ताहरूले श्रद्धाञ्जली मार्ग नामप्रति आपत्ति जनाएका थिए । सोही कारण उद्घाटनको अवसरमा श्रद्धामार्ग राखिएको कोषाध्यक्ष राईले जानकारी दिए ।