कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय जङ्गली हात्ती बस्तीमा प्रवेश गरेर आतङ्क मच्चाउने क्रम बढिरहेको छ । हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ भने अन्नबाली पनि उत्तिकै नष्ट भइरहेको छ । हात्तीका बथान आएर दुःख दिन थालेपछि पूर्वी तराईका बासिन्दा आतङ्कित बनिरहेका छन् ।

यसरी दुःख दिने हात्तीहरु भारतीय क्षेत्रबाट झापाको बाहुनडाँगी हुँदै पूर्वका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । मङ्सिर महिना लागेयता मात्र झापा, मोरङ र सुनसरीमा हात्तीको आक्रमणमा परेर चार जनाको ज्यान गइसकेको छ । चालु आर्थिक वर्षको हालसम्म झापामा मात्र हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या ६ पुगिसकेको छ । यसरी हात्ती आतङ्क बढ्दै जानु चिन्ताको विषय हो ।

विज्ञहरुको भनाइमा जङ्गली हात्तीले विशेषगरी असार–साउन र मङ्सिर–पुस महिनाका बेला धेरै दुःख दिन्छन् । असार र साउनमा मकै पाक्ने र मङ्सिर र पुस महिनामा धान, उखुजस्ता बाली पाक्ने भएकाले यी महिनामा हात्तीले उपद्रो मच्चाउने गरेका छन् । यो मौसममा हात्तीहरु बढी सक्रिय हुने र बालीनाली नष्ट गर्ने र आक्रमण गर्ने गरेका विभिन्न घटनाक्रमले देखाएको छ ।

विज्ञहरुले हात्तीहरु सक्रिय हुने मौसममा सतर्कता अपनाउनु पर्ने सुझाव दिन्छन् तर, आम नागरिकमा अझै पनि सतर्कता अपनाउनेभन्दा हात्तीलाई जिस्क्याउने र बिच्काउने प्रचलन छ । मान्छेका यस्ता गतिविधिले हात्ती झन् आक्रामक बन्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले पनि आम नागरिकले हात्ती आक्रमणबाट बच्न सतर्कता अपनाउन जरूरी छ । 

हात्ती आतङ्क बढेपछि वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन गरिएको छ । तर, त्यतिले मात्र हात्ती आतङ्क नियन्त्रण हुने अवस्था छैन । त्यसका लागि सरकारले नै आवश्यक नीति निर्माण गर्नु जरूरी छ । स्थानीय सरकार र समुदाय मिलेर हात्ती आतङ्क नियन्त्रणका लागि नीति बनाई काम गर्नु आवश्यक छ ।

समुदायलाई सहभागी गराएर बनाइएको नीति मात्र दिगो हुने भएकाले समुदायको प्रत्यक्ष सहभागितामा यस्तो नीति बन्नुपर्छ । वन्यजन्तु र मानवबीचको बढ्दो द्वन्द्व न्यूनीकरण गर्न सबै पक्षले सहकार्य गर्न सकेमात्र हात्ती आतङ्क नियन्त्रण गर्न सकिन्छ ।