विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमति नलिई सञ्चालनमा आएको बिग हस्पिटल महानगरले शिलबन्दी गरेको छ ।

दर्ताविना सञ्चालनमा रहेको अनुगमनको क्रममा पाइएपछि हस्पिटल बिहीबार शिलबन्दी गरेको हो । विराटनगरमा नाम चलेका चिकित्सकको टोलीले अटेर गरी विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५ शøयाको बिग हस्पिटल सञ्चालनमा ल्याएको थियो । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले संयुक्त रूपमा अनुगमन गर्दा दर्ताविनै सञ्चालनमा ल्याएको पाइएपछि हस्पिटलको काउन्टर, ल्याव, आकस्मिक कक्ष, ओपीडी र प्रशासन शाखा शिलबन्दी गरेको छ । १५ शय्यासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय तहबाट अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ ।

स्थानीय तह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शøयासम्मको स्वास्थ्यसंस्थालाई स्थानीय सरकारले अनुमति दिने गरेको छ । तर, बिग हस्पिटलका सञ्चालकहरूले अटेर गरी दर्ता विनै सञ्चालन गरिरहेको पाइएपछि शिल गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । दर्ता प्रक्रिया र आवश्यक मापदण्ड पूरा गरेपछि मात्र सञ्चालनको अनुमति दिइने उनले बताए । अस्पतालमा भर्ना भएका १७ जना बिरामीलाई २४ घण्टाभित्र रेफर गर्न पनि अनुमगन टोलीले निर्देशन दिएको छ । यसअघि हस्पिटलले अनुमति प्रक्रियाका लागि विराटनगर महानगरपालिकामा निवेदन दिएको थियो ।

निवेदन दिएपछि महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीसहितको प्राविधिक टिम गएर अनुगमन र निरीक्षण गर्दा अस्पतालका लागि आवश्यक मापदण्ड पूरा नभएपछि अनुमति दिइएको थिएन । महानगरले १२ बुँदे मापदण्ड पूरा गरेर आउन निर्देशन दिएको थियो । गत वैशाख २६ गते महानगरले पत्रमार्फत् पूरा गर्नुपर्ने मापदण्डका बारेमा निवेदकलाई जानकारी गराएको हो । अस्पतालमा अटो फायर अलार्मर स्मोक डिटेक्टरको व्यवस्था नभएको, शव वाहन नभएको र शव वाहनका लागि अन्य संस्थासँग आबद्धतासमेत नलिएको, भवन तथा पूर्वाधार सम्बन्धी व्यवस्था अनुरूप भवन निर्माण सिफारिससम्बन्धी कागजात उपलब्ध नभएको पाइएकोले ती मापदण्ड पूरा गर्न भनिएको स्वास्थ्य महाशाखा प्रमुख अलीले बताए ।

यस्तै जनशक्ति व्यवस्थापन मापदण्डअनुरूपको जनशक्ति नभएको, स्वमूल्याङ्कन प्रतिवेदन पेश नभएको, स्वघोषणा पत्र, जनस्वास्थ्य सेवासम्बन्धी व्यवस्था (पोषण सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन) अनुरूप सेवा प्रवाहको कार्ययोजना नभएको, फोहोरमैला व्यवस्थापन मापदण्ड बमोजिम नभएको, विपद् व्यवस्थापन योजना तयार नगरेको पाइएका कारण सञ्चालन अनुमति नदिएको उनले बताए । ‘मापदण्ड पूरा नगरेपछि हामीले अनुमति नदिएका हौँ । १२ बुँदे मापदण्ड पूरा गर्न पत्राचार गरेका थियौँ । अहिलेसम्म हस्पिटलले उक्त मापदण्ड पूरा गरेर आएको छैन’ उनले भने, ‘मापदण्ड पूरा नभएको पाइएपछि अहिले हस्पिटल शिलबन्दी गरिएको हो ।’

कर्मचारी पक्राउ
हस्पिटल शिलबन्दी गरेको समचार सङ्कलन गर्न गएका सञ्चारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर–९ का ३३ वर्षीय रोशन यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले सञ्चारकर्मीहरू हुसेन शेख, वीरेन्द्रकुमार साह, नवीन कर्ण, सोनुकुमार दास र जितेन्द्रकुमार ठाकुरलाई दुव्र्यवहार गरेका थिए । उनीहरूको सञ्चार उपकरण खोसेर धाकधम्की पनि दिएको सञ्चारकर्मी हुसेन शेखले बताए । पक्राउ परेका यादवविरुद्ध पीडित पत्रकारहरूले मोरङ प्रहरीमा पनि उजुरी दर्ता गराएका छन् । हस्पिटलका कर्मचारी यादवलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

यसैबीच सञ्चारकर्मीहरूविरुद्ध दुव्र्यवहार गर्ने हस्पिटलका कर्मचारीविरुद्ध कडा कारबाही गर्न पत्रकार सम्बद्ध सङ्घ–सङ्गठनहरूले माग राखेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङसहित प्रेस सङ्गठन, प्रेस युनियन मोरङले विज्ञप्ति जारी गरी सञ्चारकर्मीहरूलाई दुव्र्यवहार गर्ने हस्पिटलका कर्मचारी र सञ्चालकहरूलाई कारबाहीको माग राखेका छन् ।