विद्यार्थीको पढाइको गुणस्तर खस्किँदै गएको आम अभिभावकहरुले गुनासो गर्ने गरेका छन् । आफ्ना छोराछोरी मोबाइलमा झुम्मिने तर, किताबमा ध्यान नदिने गरेको उनीहरुको साझा गुनासो सुनिन्छ । विद्यार्थीलाई मोबाइलको स्क्रिनबाट किताबमा कसरी फर्काउने ? सबैको चिन्ता यही छ । मोबाइलको स्क्रिनमा लत बसिसकेका विद्यार्थीलाई कुटेर, पिटेर वा गाली गरेर मात्र किताबमा फर्काउन गाह्रो छ । यो विषयमा शैक्षिक नीति निर्माण गर्नेहरुले पनि ध्यान पु¥याउनु आवश्यक छ । सूचना प्रविधिको तीव्र विकाससँगै इन्टरनेट मान्छेको हात–हातमा पुगेको छ । एउटा स्मार्ट फोनका भरमा दुनियाँका कुरा जानकारी हुने र देशविदेशमा अन्तरक्रिया गर्न सकिने भएको छ । यस्तो बेलामा पुरानै शैलीमा पुस्तकका पाठ घोकाउने शैक्षिक विधि गलत छ ।

नयाँ पुस्ताका विद्यार्थीहरु विश्वमा भइरहेको विकासबारे जानकार छन् । उनीहरु तुरून्तै विश्वमा भएका घटनाक्रम थाहा पाउने र त्यस विषयमा अन्तरक्रिया गर्न सक्छन् तर, हाम्रो शैक्षिक प्रणाली पुरानै ढर्रामा छ । विद्यालयका धेरै शिक्षकहरु नै आधुनिक प्रविधिसँग अभ्यस्त हुन सकेका छैनन् । शिक्षक र अभिभावकभन्दा विद्यार्थी अघि बढिसकेको अहिलेको अवस्थामा हाम्रो शैक्षिक नीति बदल्नु जरूरी छ । शैक्षिक नीतिसँगै अभिभावक र शिक्षक पनि बदलिनु आवश्यक छ । समयानुकूल पाठ्यक्रमको विकास गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग गरेर कसरी शैक्षिक अवस्था सुधार गर्न सकिन्छ भनेर नीति निर्माताहरुले मनन् गर्नुपर्छ । अभिभावक र शिक्षकहरुले विद्यार्थीको मनोभावना बुझेर उनीहरुको रूचिअनुसारको क्षेत्रमा लगाउनसके शैक्षिक अवस्थामा पनि सुधार आउन सक्छ ।