विराटनगर । कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई मोरङ अदालतले कैद सजाय निर्धारण गरेको छ ।

मोरङ अदालतका न्यायाधीश अम्विकाप्रसाद दाहालको इजलासले राउत र सुवेदीलाई बुधबार ८ वर्ष कैद र जनही ३–३ लाख रुपैयाँ जरिबाना तोक्ने फैसला गरेको हो । जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । यसअघि बिहीबारको इजलासले उनीहरूको कसूर ठहर गरेको थियो । मुलुकी  फौजदारी मुद्दामा कसूर ठहर भएपछि सजाय निर्धारण गरी फैसला हुने गर्दछ ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरू दुवै सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा  पक्राउ परेका थिए ।

पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेख छ । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए । युवतीको अश्लील भिडियो बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

जबरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतको आदेशपछि दुवै पुर्पक्षको लागि मोरङ कारागारमा रहेका छन् ।