धरान । झापाको भद्रपुर–बिर्तामोड सडक–खण्डमा मे.३ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना भएपश्चात् चेकजाँचको क्रममा चालकको साथबाट लागूऔषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझतिरको समयमा बिर्तामोड नगरपालिका–८ गरामनीमा आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाको क्रममा जाँच गर्दा बिर्तामोड–२ का मोटरसाइकल चालक २५ वर्षीय प्रतीक राईको साथबाट तीन ग्राम ४८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । दुर्घटना भए पनि चालकलाई कुनै चोटपटक नलागेको र नशालु पदार्थ सेवन गरेको जस्तो देखिएकाले जाँचको क्रममा प्रहरीले ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै प्रहरीले मङ्गलबार नै झापा अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक घरको कोठाबाट भारत विहार जिल्ला अररिया बतनाह भटयाहीको विभिन्न वडाका तीन जना युवालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय प्रियन्सुकुमार मण्डल, जोगबनी खजुरवाडी–१५ का १९ वर्षीय मोहम्मद लाल भनिने साहिल सेख र सोही ठाउँका २३ वर्षीय मोहम्मद काजीम आलम रहेका छन् ।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १४ ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।