श्रीलङ्का टप्पु चिलैया–गरैयाका स्थानीयले नगर सरकार र जिल्ला प्रशासनसमक्ष शान्ति र सुरक्षाको माग गरेका छन् । 

वर्षौंदेखि आफूहरु कोसी कटानको असुरक्षाका बीच बस्नु परेको भन्दै उनीहरुले गुनासो गरेका छन् । जिल्लाको दूरदराजमा खेती किसानी गर्ने किसान भौतिक तथा आर्थिक सुरक्षाको जोखिममा रहिआएको टप्पुवासीले गुनासो गरे ।

शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् र स्थानीयस्तरमै मतदानको अधिकारबाट समेत बञ्चित हुनुपरेको नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीकाबीच टप्पुवासीले गुनासो राखे । 

मङ्गलबार जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सरोकारवाला निकाय र नागरिकबीच आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले टप्पुका समस्या समाधान गर्न स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराए । 

वराहक्षेत्र– ६ र ९ मा अवस्थित श्रीलङ्का टप्पुका स्थानीय सन्तोष चन्द्रवंशीले टप्पु कटान नियन्त्रण, टप्पुमा प्रहरी चौकी स्थापना, माध्यमिक विद्यालय निर्माण, सुविधाजनक अस्पताल निर्माण, कृषिमा बिउ–बिजनको सहज उपलब्धताको माग गरिएको बताए । 

विद्यालयमा जनशक्तिको अभाव, विद्युत् भोल्टेजको समस्या, नागरिकतासम्बन्धि समस्या र सुरक्षाको विषयमा प्रश्न राखेको चन्द्रवंशीले बताए । 

स्थानीयहरूले राखेको प्रश्नको जवाफ दिँदै नगर प्रमुख रमेश कार्कीले टप्पुमा प्रहरी चौकी निर्माण गर्ने र मतदान केन्द्रका लागि काम अगाडि बढाउने आश्वासन दिए । नगर प्रमुख कार्कीले आगामि शैक्षिक सत्रदेखि स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा–९ सञ्चालन गर्ने र अन्य विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जनशक्तिको व्यवस्थापनमा जोड दिने आश्वासन दिए । 

स्थानीय नागरिकको सवालको सम्बोधन गर्दै कोसी नदीमा झोलुङ्गे पुलको काम अगाडि बढेको र कोसी कटान नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइरहेको नगर प्रमुख कार्कीले बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख जिला अधिकारी हुमकला पाण्डेलेसमेत टप्पुमा प्रहरी चौकी र मतदान केन्द्र स्थापना गरिने बताइन् । उनले टप्पुको सुरक्षा र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रशासनले काम गरिरहेको बताइन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् सार्वजनिक सुनुवाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले जानकारी दिए । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सुनसरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपनिरीक्षक लोकेशकुमार तुम्बाहाम्फे, राष्ट्रिय अनुसन्धानका तिलकप्रसाद शर्मा, गैरसरकारी संस्था महासङ्घ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेलगायतको उपस्थितिमा ओरेक नेपाल, कोकन र वराहक्षेत्र नगरपालिकाको सहकार्यमा सार्वजनिक सुनुवाई आयोजना गरिएको ओरेक नेपाल सुनसरीकी प्रमुख बिमला घिमिरेले जानकारी दिइन् ।