भारतसँग सीमा जोडिएका जिल्लाहरुको प्रमुख समस्यामध्ये लागूऔषधको कारोबार पनि एक हो । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न नाकाहरुबाट लागूऔषध भित्रिने गरेको प्रहरीको तथ्याङ्कबाट देखिन्छ । लागूऔषध कारोबारीहरुले विभिन्न रोगहरुमा प्रयोग गरिने औषधिहरु समेत मिश्रण गरेर लागूऔषधका रुपमा बिक्री गर्ने गरेका घटना सार्वजनिक भइरहेका छन् । यसरी औषधिको दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्नेहरु बढिरहेका छन् । कोशी प्रदेशको तराईका जिल्लाहरूमा औषधिको दुरूपयोग भयवह बन्दै गएको औषधि व्यवस्था विभाग विराटनगरको अध्ययनले पनि देखाएको छ । विभागले औषधिको अनुचित प्रयोग गरेर कमाउधन्दामा लागेका गिरोहले यसको चरम दुरूपयोग गरिरहेको निष्कर्ष निकालेको छ । प्रहरीको तथ्याङ्क र विभागको विश्लेषणले कोशी प्रदेशका तराईका जिल्लाहरुमा औषधिको दुरुपयोग भयावह अवस्थामा पुगेको बुझ्न सकिन्छ । यसलाई बेलैमा नियन्त्रण गर्न नसके ठूलो सङ्ख्यामा युवाहरु कुलतमा फसिरहेका छन् । त्यसको असर उनीहरुको परिवारमा मात्र होईन समग्र समाजमा परिरहेको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा औषधिको दुरुपयोग गर्नेविरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा बढ्दो तथ्याङ्क हो । चालु आर्थिक वर्षको कात्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा औषधिको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा अदालतमा दर्ता भएका थिए । औषधि ऐन, २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने कानूनी व्यवस्था छ । समाजलाई भित्रभित्रै गाँजिरहेको लागूऔषध र औषधिको दुरुपयोग नियन्त्रण गर्न प्रहरी प्रशासन वा विभाग एक्लैले सक्ने अवस्था छैन । स्थानीय सरकारहरुले यसको नियन्त्रण गर्न भूमिका खेल्नु आवश्यक छ । वर्तमान संरचना अनुसार स्थानीय सरकार वडा कार्यालयका रुपमा गाउँसम्म पुगेको छ । धेरैजसो वडा सदस्यहरुले आफ्नो क्षेत्रका नागरिकलाई राम्रोसँग चिन्दछन् । औषधिको दुरूपयोग नियन्त्रणका लागि स्थानीय सरकारहरुले यिनै वडा समिति र सदस्यहरुलाई भूमिका दिएर कार्यक्रमहरु ल्याउन सक्छ । वडा सदस्यहरुको नेतृत्वमा स्थानीय टोल, समुदायसँग सहकार्य गरेर घर घरको तथ्याङ्क राख्ने अनि लागूऔषधको कुलतमा फसेकाहरु पहिचान गरेर उपचार, पुनःस्थापना, सचेतना जस्ता कार्यक्रम सञ्चालन गरिनु आवश्यक छ ।

समाजका भुसको आगो झैँ फैलिरहेको लागूऔषध दुव्र्यसनले धेरै युवाहरुको ज्यान लिएको छ । अझ धेरैको भविष्य अन्धकारमय बनाएको छ । उनीहरुसँग जोडिएका परिवारको सम्पत्ति, प्रतिष्ठामा क्षति पुगेको छ । समाज र देशका लागि विकासमा अवरोध पु¥याउन पनि लागूऔषध दुव्र्यसनले भूमिका खेलेको छ । त्यसैले लागूऔषधलाई सामान्य समस्याका रुपमा मात्र नलिएर गम्भीरतापूर्वक नियन्त्रणका उपायहरुको खोजी गरिनु जरुरी छ । समाजका प्रबुद्ध व्यक्तित्व, बुद्धिजीवीहरुले पनि स्थानीय सरकारका प्रतिनिधिहरुलाई लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि सहयोग गर्नुपर्छ । समाजमा शान्ति स्थापना भए मात्र विकासको गति अघि बढ्ने हो । समाजमा देखा परेको समस्या समाधानका लागि बुद्धिजीवीको भूमिका महत्त्वपूर्ण हुन्छ । समाजका कुनै पनि समस्या समाधान गर्न एक्लैले मात्र सम्भव हुँदैन, त्यसैले लागूऔषध दुव्र्यसन जस्तो जटिल समस्या समाधानका लागि समाजका अगुवा, बुद्धिजीवी, जनप्रतिनिधिहरुसँगै प्रहरी प्रशासन र सरोकारवाला निकायहरुबीच सहकार्य हुनु आवश्यक छ ।