विराटनगर । भीरबाट लडेर उपचार नपाई पाँच दिनदेखि धरानको जङ्गलमा छट्पटाइरहेका कैलालीको टीकापुर– ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो ।

मजदुरी काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट बाटो लागेका थिए । भेडेटारदेखि मुनिको जङ्गलमा शौचका लागि गाडी रोकेको थियो । शौच गर्न गएका चौधरीलाई रिङटा चलेपछि त्यहीँको भीरबाट खोल्सीमा झर्दा उनी बेहोस भएका थिए । दुई दिनसम्म उनको होस आएन । भीरबाट लडेको पाँचौँ दिन जङ्गलमा घाँस काट्न गएका स्थानीयले चौधरीलाई लडिरहेको देखेपछि उद्धार गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए । प्रतिष्ठानमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि विराटनगर लैजान चिकित्सकले सुझाव दिए । त्यसपछि चौधरीलाई विराटनगर–३ कञ्चनबारीस्थित आर्या  न्युरो हस्पिटलमा लिएर आए । आर्यामा ल्याउँदा चोट लागेका ठाउँमा किरा परेको थियो ।

‘घाउमा किरा अर्थात् मेडिकल भाषामा ‘म्यागोस’ परेको थियो । यस्तो किरा कुहिएको वस्तुमा लाग्ने गर्दछ’ उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर पङ्कजराज नेपालले भने, ‘यहाँ ल्याएपछि तीन दिन लगाएर घाउ सफा गरियो । घाउमा किरा परेको थियो । मस्तिष्कमा पनि किराको फुलहरू थियो । हामीले प्लास्टिक सर्जरी गरेर कैलाशलाई बचाउन सफल भयौँ ।’  छारे रोगका कारणले गर्दा पनि यस्तो हुने उनले बताए । ‘एक्कासि रिङटा लागेर ढलेको हुनाले चौधरीलाई छारे रोगले एट्याक गरेको हुनसक्छ’ डाक्टर नेपालले भने, ‘हस्पिटलमा बैलेमा ल्याएकोले हामीले उपचार गरेर बचाउन सक्यौँ ।’ लामो समयसम्म उपचार गरेपछि चौधरी हाल ठीक भएपछि डिस्चार्ज गरिएको उनले बताए । ‘अब घाउ एकदमै राम्रो भएको छ,’ उनले भने, ‘रिकभर राम्रो भएपछि अहिले कैलाशलाई घर पठाइएको छ । ’

कैलाशकी श्रीमती सविताले श्रीमान्ले आर्या न्युरो हस्पिटलमा नयाँ जीवन पाएको बताइन् । ‘पाँच दिनदेखि जङ्गलमा पानी मात्र खाएर बसेका श्रीमान्लाई जङ्गल गएका कृषकले उद्धार गरेर हस्पिटल ल्याउनुभएको रहेछ । यहाँ ल्याएपछि श्रीमान्ले राम्रो उपचार पाउनुभयो । अहिले ठीक हुनुभएको छ । उपचार गरेर श्रीमान्लाई पुनः जन्म दिने हस्पिटल र चिकित्सकप्रति आभारी छु’–उनले भनिन् ।