प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । 

डा.सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत रहेका छन्। यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसेका छन् ।

डा.सापकोटा विश्व राजनीति,अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार हुनुहुन्छ । उहाँले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका छन् ।

हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।