संघीय संसदमा धरान, वराहक्षेत्र, रामधुनी (सुनसरी निर्वाचन क्षेत्र नम्बर १) का प्रतिनिधि साथै सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सरकारको आलोचना गर्न सुझाव दिएका छन् । सरकारले आलोचनाको आत्मसात गर्ने बताउँदै मन्त्री राईले ‘सरकारको राम्रोको लागि’ आलोचना गर्न निर्वाचन क्षेत्रका स्थानीयलाई आग्रह गरे । 

धरानस्थित नेवार एकता समाजले बडादसैंका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री राईले शिक्षा, विज्ञान र प्रविधिबारे केही नबोले पनि सरकारले विकासतर्फ २ खर्ब ६२ अर्ब खर्च कटौती गरेको बताए । 

मन्त्री राईले लक्ष्य गरेको राजश्व संकलन गर्न सरकार इमान्दारितापूर्वक लागेको बताए । ‘सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ ।’ मन्त्री राईले भने । मन्त्री राईले सरकारको कामको जस सरकारमा भएका सबैले लिनुपर्ने भए पनि सरकारका अर्थमन्त्रीले व्यक्तिगत रुपमा निकै नै मिहिनेत गरेको उल्लेख गरे । 

मन्त्री राईले भ्रष्टाचार र फजुल खर्च रोक्न सरकार लागि परेको बताए । उनले सरकार वैदेशिक सहयोग जुटाउन लागि परेको र अनुदानसमेत बढेर आउने विश्वास व्यक्त गरे । ‘सरकारप्रति दातृ निकायको विश्वास बढेको छ ।’ मन्त्री राईले भने ।