धरान । विभिन्न एप्समार्फत् अनलाइन व्यापारको नाममा ठग्नेहरू सक्रिय रहेका छन् ।

धरानकी निरु थापा (नाम परिवर्तन) सामाजिक सञ्जाल टिकटकमा राम्रो लुगा देखेपछि लोभिइन् । सोही लुगाको मूल्य सरु क्लोथ मार्केट प्लेस नामको अनलाइन मार्केटको म्यासेन्जरमा सोध्दा दुई हजार रुपैयाँ पर्ने बताएको र मोबाइल नम्बर मागिएको उनले बताइन् ।

मोबाइल नम्बर दिएपछि एक जना पुरुष स्वरमा लुगा राम्रो लागेमा ५० प्रतिशत पेस्की क्यूआर कोडमार्फत् पठाएपछि भोलिपल्टै लुगा आउने जानकारी दिएको उनको भनाइ छ । लुगाको मूल्य बराबरको ५० प्रतिशत एक हजार ५० रुपैयाँ पठाइन् । उनलाई उताबाट लुगा भोलिपल्ट २ बजेसम्म आइपुग्ने बताइएको थियो । ‘लुगा नआएपछि दुई पटक फोन गर्दा भरे आउँछ भन्दै साँझ ६ बजेसम्म पर्खाइयो’ उनले भनिन्, ‘नआएपछि फेरि फोन गर्दा फोन उठ्नै छाड्यो । त्यसपछि मात्रै ठगिएछु भन्ने लाग्यो ।’

विशेषगरी चाडबाडको बेला यस्ता अनलाइन व्यापारको नाममा ठग्ने गरेको उनको भनाइ छ । यस्ता मार्केटहरू काठमाडौँ, धरान, चितवन र इटहरीमा पनि सक्रिय रहेको पाइएको छ ।

यस्तै रमला राई (नाम परिवर्तन) ले आफू पनि फेसबुकमार्फत् झण्डै ठगिएको बताइन् । उनका अनुसार फेसबुकमा झम झम भन्ने दुबईस्थित प्रसिद्ध इलेक्ट्रिक कम्पनीले गरेको एउटा चित्र मिलाउँदा मोबाइल उपहार पाउने भन्ने पोष्टमा आँखा पुगेको थियो । चित्र मिलाएर पठाएपछि ह्वाट्सएपमा चित्र मिलाउनुभएकोमा बधाई छ भन्दै म्यासेज आएको उनको भनाइ छ । उताबाट कम्पनीको तर्फबाट मोबाइल र अन्य सामानहरू पुरस्कार पाउनुभएको छ भन्दै म्यासेज आएको उनले बताइन् ।

‘सामान भन्सारमा आएको छ भनी ८ वटा बाकसको भिडियो ह्वाट्सएपमा आयो’ उनले भनिन्, ‘त्यसका लागि ८ हजार रुपैयाँ पठाउनुपर्ने हुन्छ भनेपछि साथीभाइलाई सोध्दा ठगी हो भनेपछि धन्न आफू चाहिँ बचेँ ।’ यसरी पछिल्लो समय ठगिनेको सङ्ख्या बढ्न थालेको छ । प्रहरीमा पनि ठगिएको भनी निवेदन तथा उजुरी पर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

नेटवर्किङमार्फत् ठगी गर्ने दुई पक्राउ

नेटवर्किङमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१५ का केबी भनिने कृष्णबहादुर लिम्बू र धरान–१० राजकुमार लिम्बू पक्राउ परेका हुन् । उनीहरूले २ करोड ९३ लाख ९८ हजार ८ सय ७३ रुपैयाँ ठगी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर रञ्जन मिश्रले नेटवर्किङमार्फत् ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको बताए । उनले भने, ‘ठगी गर्नेे समूह इन्डियासम्म रहेको बुझिएको छ । थप अनुसन्धान गरिरहेका छौँ ।’ केबी लिम्बूलाई पीडितहरूले नै नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए । पीडितहरूले नियन्त्रण लिई प्रहरीलाई जिम्मा लगाई जाहेरी दिएपछि अनुसन्धानका क्रममा धरान–१० का राजकुमार लिम्बू पक्राउ परेका हुन् ।