धरान । सवारी तोडफोड गरेको आरोपमा झापाबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । नेकपा (एमाले) समर्थित युवासङ्घ नेपाल झापाले अर्जुनधारामा आयोजना गरेको कार्यक्रममा सवारी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी उपद्रव मुद्दा दर्ता गरेको छ ।

एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा सवारी तोडफोड गरेको आरोपमा विक्रम लिम्बू र विजय चौधरीलाई पक्राउ गरेको हो । लिम्बूलाई गत बिहीबार नै पक्राउ गरिएको थियो भने चौधरीलाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थन गर्दै उनीहरूले गाडी तोडफोड गरेका थिए । उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूले १३ वटा चार चक्के र ८ वटा दुई चक्के सवारी साधनमा क्षति पु¥याएको भन्दै प्रहरीमा पीडित पक्षले उजुरी दिएका थिए । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २८५ अनुसार कारबाही गर्नु पर्ने माग गरिएको छ । पक्राउ पर्नेमध्ये चौधरीले बिर्तामोडमा आफै पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए ।