धरान । नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटबल सङ्घ र नेपाल पत्रकार महासङ्घ सुनसरी टिमबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सुनसरी बास्केटबल सङ्घले शनिबार दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसँगै मैत्रीपूर्ण खेल खेलाएको थियो । मैत्रीपूर्ण खेलमा सुनसरी बास्केटबल सङ्घ ५२–४१ अङ्कले विजेता भएको छ ।

सुनसरी बास्केटबल सङ्घ र सुनसरी पत्रकारले प्रत्येक क्वार्टरमा २–८, २३–१०, ७–१३ र २०–१० अङ्क जोडे । खेलमा सुनसरी बास्केटबलकातर्फबाट विवेक राईले व्यक्तिगत १६ अङ्क जोडे । मैत्रीपूर्ण खेलमा सुनसरी बास्केटबल टिम नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी पत्रकार टिम नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राईको कप्तानीमा आ–आफ्नो टिम कोर्टमा उतारेका थिए ।

मैत्रीपूर्ण खेलअघि कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले शुभकामना मन्तव्य दिएका थिए । मैत्रीपूर्ण खेलमा प्राविधिक सहयोग धरान बास्केटबल सङ्घको रहेको थियो ।