धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षक कर्मचारीको आन्दोलनका कारण सेवाग्राही अन्योलमा परेका छन् । बिहान सात बजेपछि खुल्ने ओपिडी कार्ड काउन्टरमा कर्मचारी २ घण्टा ढिलो आउँदा सेवाग्राहीसमेत अन्योलमा परेका छन् ।

६ बजेदेखि ओपिडी कार्ड लिन पालो पर्खेर बसेका सेवाग्राहीलाई ९ बजेपछि मात्रै कर्मचारीले ओपिडी कार्ड वितरण सुरु गरेका छन् ।

सात बजेपछि कार्ड काउन्टर खुल्ने प्रतिष्ठान प्रशासनले नियम बनाए पनि कर्मचारी आठ बजेदेखिमात्रै काउन्टर आउने गरेका छन् । दैनिक खुल्नु पर्ने ओपिडी काउन्टरमा नौ बजिसक्दासमेत कर्मचारी नआउँदा सयौं बिरामीले अलपत्र परेको भन्दै गुनासो गरेका थिए । काउन्टर खुल्ने-नखुल्ने यकिन नहुँदा पालो पर्खेर बसेका बिरामी घर फर्किएका थिए ।

Bpkihs Birami

प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलनका कारण  प्रतिष्ठानको सेवा अन्योलग्रस्त भएको छ ।  ओपिडीमा पालो पर्खेर बसेका बिरामी गाइनोमा १५० र अन्य विभागमा ५० जना पुगेपछि 'टोकन सकियो' भन्दै  कर्मचारीले फर्काउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

प्रतिष्ठानकी प्रवक्ता डा अन्जु प्रधानले आफू हिजोदेखि छुट्टीमा बसेको बताइन् । शिक्षक कर्मचारीको आन्दोलनले सेवा प्रभावित भएको उनले बताइन् ।

हाल ओपिडीमा फ्याकल्टी प्रमुख, प्रोफेसरहरुले उपचार र परामर्श गरिरहेका छन् । अप्रेशन सेड्युलमा रहेका सेवाग्राहीले उपचार पाइरहेका छन् ।