विराटनगर । नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसूरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित छ जनाविरुद्धको मुद्दाको अनुसन्धान पूरा भएको छ ।

मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । प्रहरीले अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अभियोजन पत्रको तयारी थालिएको जनाएको छ । आइतबार साँझसम्म अभियोजन पूरा गरेर आज (सोमबार) मोरङ अदालतमा छ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अभियोजन गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

अदालत स्रोतका अनुसार पक्राउ परेका डाक्टर कर्णसहित छ जनालाई प्रतिवादी बनाएर तीनवटा मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरूलाई अपहरण, व्यक्ति बेपत्ता, एकीकृत कसूर र सङ्गठित अपराध मुद्दामा प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने तयारी गरिएको छ । प्रहरीले अनुसन्धान पूरा गरेर प्रतिवेदन शुक्रबार बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘हामीले अनुसन्धान पूरा गरेपछि प्रतिवेदन बुझाएका छौं । अब सरकारी वकिलको कार्यालयले अभियोजन तयारी पारी अभियोग दर्ता गर्नेछ’–उनले भने ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता रोहित पोखरेलले अनुसन्धान प्रतिवेदन आएकोले अहिले अभियोजन बनाउने काम भइरहेको बताए । ‘अनुसन्धान प्रतिवेदन हेरेर अभियोजन तयार गरिँदै छ । मुद्दा बनाउने दिन कतिवटा मुद्दा र प्रतिवादी हुन्छन् । त्यही दिन थाहा हुन्छ’–उनले भने । नवजात शिशु बिक्री गरी बेपत्ता पारेको कसूरमा कोशी अस्पतालका पूर्व मेसु स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डाक्टर कर्णसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवजात शिशुलाई जन्म दिएको हस्पिटल ग्रीनक्रसका सञ्चालक कृष्ण खवास पनि पक्राउ परेका छन् । खवासको व्यवस्थापकीय भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले खवासलाई मतियार बनाएको छ तर, जिल्ला सरकारी वकिलको कार्यालयले उनको संलग्नता नदेखिएकोले प्रतिवादी नबनाएर हाजिर जमानीमा छोडिदिने तयारी गरेको छ । प्रहरीले यस घटनामा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी,  पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए ।

डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले पक्राउ गरेको थियो । डा. कर्णले ग्रीनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत् उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ । कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाको छोरा–बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । असार १३ गते अविवाहित महिलाले ग्रीनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छन् ।