विराटनगर । औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि भारतबाट नेपाल तस्करी हुने गरेको पाइएको छ ।

खुल्ला सीमाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट विराटनगरमा औषधि तस्करी हुने गरेको पाइएको हो । प्रहरीले विराटनगर–१३ जतुवा नहरबाट भारतबाट तस्करी भएको ठूलो परिमाणको औषधि शनिबार बरामद गरेको छ ।

अवैधरूपमा भन्सार छली गरी झोलामा बोकी ल्याउँदै गरेको तीन लाख २१ हजार ४ सय २४ रुपैयाँको औषधि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले ओकेरोन, माइकोफिट, ग्यासनोल नामको औषधि बरामद गरेको हो । बरामद गरेको औषधि विभागमा दर्ता नभएको पाइएको छ ।

बरामद ओकेरोन औषधि अल्सर भएर ब्लिडिङ हुँदा प्रयोग हुने चिकित्सकले बताएका छन् । प्रहरीले सबैभन्दा बढी ओकेरोन औषधि बरामद गरेको छ ।

नेपालभन्दा भारतमा औषधि सस्तो पाउने भएकोले क्यारिङमार्फत् तस्करी हुने गरेको छ । यहाँका केही फार्मेसीहरूले क्यारिङ प्रयोग गरी तस्करीमार्फत् औषधि ल्याउने गरेको प्रहरी जनाउँछ ।

प्रहरीले औषधि बरामद गरे पनि क्यारिङ गर्ने तस्करलाई भने समातेको छैन । प्रहरीलाई देखेपछि औषधि ल्याउने फरार भएको डिएसपी दाहालले बताए । फरार भएकाको पनि खोजी तीव्र बनाएको प्रहरीले जनाएको छ । बरामद औषधि प्रहरीले औषधि व्यवस्था कार्यालय विराटनगरमा बुझाएको छ ।