जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले गएको साता दिनमा ६ सय ४५ सवारीलाई कारबाही गरेको छ । कारबाहीबाट ४ लाख २५ हजार ३ सय रुपैयाँ राजश्व संकलन गरेको छ । १ हजार ३ सय ४२ जनालाई ट्राफिक नियमसम्बन्धी जनचेतना प्रदान गरेको छ । 

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुवास केसीका अनुसार गएको साता दिनमा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

आइतबार कोशी गाउँपालिका १ बिएस होटल अगाडि २ मोटरसाइकल ठक्कर लाग्दा ४ जना घाइते भएको छन् । ४ मध्ये २ जना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

गम्भीर घाइते हुनेमा प्र १०२०४३ प ८११२ नं को मोटर साइकल चालक भोक्राहा ७ का अबजुल हुसेन र पछाडि सवार निखिल उराव रहेका छन् ।

सामान्य घाइते हुनेमा प्र २०१००१ प ३२१० नं को मोटरसाइकल चालक कोशी–२ का आशिषकुमार मण्डल र पछाडि सवार भारत अररियास्थित बेला–७ का शंकर यादव रहेका छन् । घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र २०१००१ प ३२१० नं को मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १०२०४३ प ८११२ नं को मोटर साइकल एकआपसमा ठक्कर लागि दुर्घटना भएको थियो । 

दुबै सवारी साधनलाई इप्रका लौकहीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

यस्तै हिजै साँझ ५ बजे दुहबी बजारस्थित कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र २–०३–००१ ख १४८५ न को ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को ३७ प ७९७७ नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर लाग्दा मोटर साइकलमा सवार ओखलढुंगा मानेभञ्ज्याङ ८ की रन्जना बास्तोला घाइते भएकी छन् । उनको टाउको र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । 

मोटरसाइकल चालक इटहरी १ का रबिन वास्तोला सकुशल छन् । सवारी साधन र चालक खाँदबारी–१ यामबहादुर कटुवाललाई ईप्रका दुहबीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।