सुनसरी जिल्लामा बिहीबार भएका छुट्टाछुट्टै ६ दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ गम्भीर र ७ सामान्य घाइते भएका छन् । ९१ ट्राफिक कारबाहीमा ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

बिहीबार साँझ ४ बजे गढी–५ थलाहास्थित औराबनीबाट सत्यझोरा जाने शाखा नहर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ त ४८३५ नं को ट्याक्टर अनियन्त्रित भई सडक साइडमा पल्टिंदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गढी–६ बस्ने प्रमिलादेवी मण्डल (चालककी श्रीमती) गम्भीर घाइते भई उपचारको लागि टिचिङ अस्पताल पठाएइकामा साँझ सवा ७ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक ब्रम्हदेब मण्डलको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । यस्तै चालकका छोरा शिवकुमार मण्डलको खुट्टामा चोट लागेको छ । गम्भीर अवस्था रहेका  उनको उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । 

ट्याक्टर घट्नास्थलमै रहेको छ भने चालकको लाइसन्ससमेत नभएको प्रहरीको भनाइ छ । 

बिहीबार ६ः४५ बजे बराहक्षेत्र १ बाघखोलास्थित चतरा धरान कच्ची सडक खण्डमा धरानबाट चतरातर्फ जाँदै गरेको को १ अ ७३०८ नं. को सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा सवार कुमारी बिक घाइते भएकी छन् । उनको शरीरको भित्री भागमा चोट लागी सामान्य घाइते भई उपचारको लागी धरानस्थित  बिपी प्रतिष्ठान पठाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सिटी सफारी ईप्रका चतराको नियन्त्रणमा रहेको छ ।  चालक सोही स्थानका राजेन्द्र खड्का घाइतेको उपचारमा संलग्न रहेका छन् । सडक खाल्डाखुल्डी भएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।  

यस्तै बिहीबार ११ः३० बजे इटहरी १० खनारस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा.प्र. ०१–०२५ च ०१६१ नं. को कार र सोही दिशाबाट आउँदै गरेको प्र ३–०२–००१ प २४०५ नं. को स्कुटर आपसमा ठक्कर लागी दुर्घटना हुँदा स्कुटर चालक धरान १६ का अनिरुद्र श्रेष्ठ सामान्य घाइते भएका छन् । उनको उपचारका लागि विराटनगर पठाइएको छ । दुबै सवारी साधन प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ । कार चालक उत्तमकुमार श्रेष्ठ घाइतेको उपचारमा संलग्न रहेको बताइएको छ । कार चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।  

बिहीबार दिउँसो १२ः४५ बजे इटहरी १ आपगाछीस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १०२००२ ह ९५२३ नं को सिटी सफारीलाई सोही दिशातर्फ आउँदै गरेको प्र १०२०४७ प ७४५८ नं को स्कुटरले ठक्कर दिंदा स्कुटर चालक बैतडी ४ घर भई बिपी प्रतिष्ठान घोपा धरानमा अध्ययनरत विद्यार्थी तेजप्रकाश साह र पछाडि सवार विद्यार्थी जनकपुर २ का निरजकुमार साह घाइते भएका छन् । उनीहरुको उपचारका लागि बिपी प्रतिष्ठान पठाइएको छ । 

दुबै सवारी साधन र सिटीसफारी चालक इटहरी ५ का  तेजबहादुर बस्नेतलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको थियो । चालकको सवारी चालक अनुमती पत्र नखुलेकोे साथै सडकमा ध्यान केन्द्रित नभएको । प्रहरीले जनाएको  छ । 

यस्तै गढी–३ छिटाहास्थित विराटनगर– इनरुवा भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २९ प २६८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भएको दुर्घटनामा पैदलयात्री गढी–३ कासत्यनारायण महतोको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । सामान्य अवस्थामा रहेका उनको विराटनगर नोबेल अस्पतालमा उपचार भइरहेको छ ।  मोटरसाइकल र चालक गढी–६ का राजेन्द्र उरावलाई ईप्रका छिटाहाले नियन्त्रणमा लिएको छ । 

यस्तै दुहबी–२ तनमुना मोडस्थित इनरुवा–दुहबी पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.२– ०१–०४८ प ४५८० नम्बरको मोटर साइकल अनियन्त्रित हुँदा  दुर्घटना भएको छ । 

दुर्घटनामा चालक मोरङ ग्रामथान–५ की पुल्की चौधरीको बाँया हात, खुट्टा, अनुहारमा चोट लागेको छ । उनको दुहबी सामुदायिक हस्पिटलमा उपचार भएको छ । मोटर साइकल ईप्रका दुहबीले नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ  छ ।