काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘रिगल ढकालको हकमा मिति २०८०÷६÷३ मा राष्ट्रपतिद्वारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधीवक्ता कार्यालयमार्फत् मिति २०८०/०६/२४ भित्र झिकाउनू ।’

रिगल विवादलाई छिटो–छरितो रूपमा  निरूपण गर्नुपर्ने देखिएकाले पूर्ण सुनुवाइका लागि यही असोज २५ गते पेशी तोकी अग्राधिकार दिई सुनुवाइको व्यवस्था गर्ने र आकस्मिकरूपमा बिदा परेमा त्यसको भोलिपल्ट सुनुवाइको व्यवस्था गर्न आदेशमा भनिएको छ ।

अदालतले कानूनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्नका लागि उपयुक्त देखिएकाले अर्काे सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेशमा भनिएको छ । संविधान दिवसका अवसरमा यही असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सबै मिसिल झिकाउन आदेश दिएको हो ।