विजयपुुर । कोसी राजमार्गअन्तर्गत ६ लेन सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको सुनसरीको इटहरी–२० स्थित तरहरादेखि सेउती पुल सडक–खण्डको काम चौतर्फी दबावपश्चात् सुरु भएको छ ।

यातायात व्यवसायी, उद्योगी व्यवसायी पर्यटन व्यवसायीलगायत सम्पुर्ण सरोकारवाला निकायको चौतर्फी दबावपश्चात् ठेकेदार कम्पनीले काम सुरु गरेको हो । ठेकेदार कम्पनी हिमढुङ्ग/प्यासिफिक जे.भी. आर्थिक वर्ष २०७९/०८० असार मसान्तबाट सडक निर्माणको काम अलपत्र छाडेर बेपत्ता बनेको थियो । लामो समयमा पनि सडक निर्माण सम्पन्न नगर्दा यातायात व्यवसायी, यात्रु, पर्यटन व्यवसायीलगायतले सास्ती पाए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिले दबावस्वरूप जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन–पत्र बुझाएको थियो ।

ज्ञापन–पत्रमा राजनीतिक दल, सुनसरी उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घलगायतले ऐक्यबद्धता जनाएका थिए । महासङ्घले ज्ञापन–पत्र बुझाएपश्चात् सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठेकेदार कम्पनीसहित सरोकार पक्षलाई असोज ११ गते छलफलमा बोलाएकी थिइन् । छलफलमा ठेकेदार कम्पनी अनुपस्थित बनेको थियो । ठेकेदार कम्पनी उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न रानी–विराटनगर–इटहरी–धरान आयोजनालाई निर्देशन दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासनले ठेकेदार कम्पनीले तत्काल सडक निर्माण कार्य अघि नबढाए कानूनी प्रक्रिया अघि बढाउन आयोजनालाई निर्देशन दिएपछि आयोजनाले ठेकेदारलाई पत्राचार गरेको थियो । आयोजनाले २०८० असोज ११ एकदिने समयसीमा दिएर पत्राचार गरेको थियो । तत्काल काम सुरु नगरे सम्झौताअनुसार कानूनी प्रक्रिया अघि बढाउने गरी पत्राचार गरेपछि ठेकेदार कम्पनीले काम सुरु गरेको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजनाले सम्झौता अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा २०८० असार २५ मा नै सकिएको छ । आर्थिक वर्ष २०८१/०८२ असारसम्म समय  थपिएको छ ।