धरान । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्षलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२५ वर्षीया एक महिलालाई वडाध्यक्ष छविरमण धमलाले जागिर लगाइदिने प्रलोभन देखाई करणी गरेको आरोप लागेको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले वडाध्यक्ष धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बलिस्टार सिंहले जानकारी दिए ।

वडाध्यक्षले होटलको कोठामा असोज ५ गते बोलाई करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएकी छन् । ती महिलाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।

वडाध्यक्षविरुद्ध जिल्ला अदालत ओखलढुङ्गाले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले सिद्धिचरण नगरपालिका क्षेत्रबाट मङ्गलबार पक्राउ गरेको इन्स्पेक्टर सिंहले जानकारी दिए । प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ ।