मुलुकका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि चरणबद्ध भएको आक्रमणविरुद्ध बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सक आन्दोलित बनेका छन् ।

मणिपाल शिक्षण अस्पताल, पोखरालगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू असुरक्षित बनेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।

आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बीपी प्रतिष्ठानको जुनियर रेजिडेण्ड वेल्फेयर सोसाइटी (जेआरडब्लुएस) र विद्यार्थी कल्याण समाज (एसडब्लुएस) को नेतृत्वमा आन्दोलन भएको हो । मङ्गलबार प्रतिष्ठानका आवासीय चिकित्सकहरूले सेवा प्रवाह बन्द गरेका छन् ।

जुनियर रेजिडेण्ट वेल्फेयर सोसाइटीका सचिव डा. चन्दन चौधरीले देशभरका आवासीय चिकित्सक आन्दोलित बनेको जानकारी दिए । उनका अनुसार विभिन्न स्थानमा चिकित्सकमाथि चरणबद्ध आक्रमणको विरोधमा आन्दोलित बनेका हुन् । उनले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग भएको सहमति कार्यान्वयन नगरेकाले आन्दोलित बन्नुपरेको बताए ।

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजतले चिकित्सकमाथि चरणबद्ध आक्रमणका घटनामा संलग्नहरूलाई कारबाही गर्न सरकार उदासीन बनेकाले आन्दोलित बन्नुपरेको बताए । उनले देशव्यापीरूपमा भएको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताए । उनले भने, ‘बिरामीको मृत्यु हुन्छ । चिकित्सको गल्ती छ वा छैन, छानबिन नगरी चिकित्सकमाथि चरणबद्ध आक्रमण हँुदा सरकार मुकदर्शक बनेकाले आन्दोलित बन्नुपरेको हो ।’

चिकित्सककै गल्ती भएमा प्रक्रियागतरूपमा कारबाही गर्नुपर्ने तर, आक्रमण गर्नु नहुने उनले बताए । उनका अनुसार आवासीय चिकित्सकहरूले अस्पतालको दैनिक काम बन्द गरेका छन् । उनीहरूले ओपिडी, एकेडेमिक तथा इमरजेन्सीका सेवासमेत बहिष्कार गर्ने जनाएका छन् । उनले सरकारले आफ्ना मागहरू पूरा नगरेसम्म आन्दोलन फिर्ता नलिने बताएका छन् ।

कारबाही गर्न सरकार प्रतिबद्ध
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आक्रमण गर्नमा संलग्नहरूमाथि कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको हो । मङ्गलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानून हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ ।

संलग्नहरूलाई ऐनअनुसार नै कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता जनाएका चिकित्सक सङ्घले जनाएको छ । आवासीय चिकित्सकहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाएर घटनाको अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । प्रतिष्ठानका रेजिडेण्ट वेल्फेयर सोसाइटीका सचिव डा. चन्दन चौधरीले मनिपाल अस्पताल पोखराको घटनामा संलग्नहरूको नाम सार्वजनिक गरेर कारकाही गरेपछि मात्रै आन्दोलन फिर्ता हुने बताए ।