बजारमा खाद्यान्नदेखि तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुहरूको खरिदमा उपभोक्ताहरू ठगिने गरेको गुनासो बारम्बार सुनिन्छ । कहिले मनलागी मूल्यवृद्धि र कहिले गुणस्तरहीन सामानको बिक्री वितरणका कारण उपभोक्ताहरू पीडित बनिरहेका छन् । पछिल्लो समय खाना पकाउने ग्याँसमा पनि उपभोक्ता ठगिएका घटना बढ्न थालेको छ । हालै मात्र उपभोक्ताले खरिद गरेर लगेको कोसी ग्याँसको सिलप्याक सिलिन्डर रित्तो भेटिएपछि कतै ग्याँस उद्योग वा विक्रेताहरू नै यस्तो धन्दामा लागेका त छैनन् ? भन्ने प्रश्न उठेको छ । यसभन्दा पहिला पनि कोशी ग्याँसकै सिलिन्डर खाली भेटिएको घटना सार्वजनिक भएको थियो । बारम्बार यस्तो घटना हुनुले कमाउ धन्दामा लागेकाहरूले उपभोक्तामाथि ठगी गरिरहेको आशङ्का बढ्नु स्वभाविक हो ।

ग्याँस उद्योगहरूले कहिले सिलिन्डरमा कम ग्याँस भरेर बिक्री गर्ने गरेको र कहिले सिलिन्डर नै काटेर छोटो बनाई उपभोक्तालाई ठगी गर्ने गरेको सार्वजनिक हुँदै आएको छ । यी पटक–पटकका घटनाहरूले ग्याँस उद्योगहरू उपभोक्ताप्रति इमान्दार छैनन् भन्ने देखाउँछ । यस्तो अवस्थामा सिलप्याक सिलिन्डर रित्तो भेटिनुले यो अन्जानमा भएको गल्तीभन्दा पनि नियतवश भएको हुनसक्ने आशङ्का स्वभाविक छ । तसर्थ यो विषयमा सरोकारवाला निकाय गम्भीर बनेर अनुसन्धान गर्नु आवश्यक छ । तर, यो घटनामा नियमन गर्ने निकायले गैरजिम्मेवारी देखाएको छ । उपभोक्ताले रित्तो सिलिन्डर भेटिएपछि नियामक निकाय गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेललाई अनुगमनका लागि आग्रह गर्दा उनले अनुगमन गर्ने गाडी नभएको भन्दै पन्छिएको पाइएको छ । यसबाट कतै नियामक निकायको पनि मिलेमतोमा त यस्तो धन्दा चलिरहेको छैन ? भन्ने शङ्का उत्पन्न भएको छ । नियमनको अधिकार पाएर बसेको सरकारी निकायले आफै बजारको अनुगमन गरेर उपभोक्तालाई ठगिनबाट बचाउनु पर्नेमा उपभोक्ताले खबर गर्दासमेत अनुगमन गर्न हिच्किचाउनुले राम्रो सङ्केत गर्दैन । त्यसकारण नियामक निकायमाथि पनि छानबिन गरिनु आवश्यक देखिन्छ ।

गुणस्तर तथा नापतौल कार्यालयले अनुगमन गर्न आनाकानी गरे पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तुरुन्तै अनुगमन गरेर कैफियत भेटेपछि कोसी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । तर, जरिबाना गरेर मात्र समस्या समाधान हुँदैन । ग्याँस उपभोक्ताहरूमाथि भइरहेको ठगीबारेमा नियमनकारी निकायले अनुसन्धान गरेर कारबाही गर्नु र उपभोक्तामाथि भइरहेको ठगी नियन्त्रण गर्नु आवश्यक छ । साथै उपभोक्ताहरूले पनि ग्याँस खरिद गर्ने बेलामा सिलिण्डर जोखेर मात्र लिने र तोकिएको भन्दा कम तौल भेटिए तुरुन्तै सम्बन्धित निकायमा खबर गर्ने गर्नु आवश्यक छ । जबसम्म उपभोक्ता स्वयम् सचेत बन्न सक्दैनन्, तबसम्म यस्तो समस्या आई नै रहन्छ । उद्योगी, व्यापारीको उद्देश्य नाफा कमाउनु हो तर, नाफा भन्दैमा उपभोक्तामाथि घात गर्नु अपराध हो । यस्ता उद्योगहरूलाई उत्तरदायी बनाउन सरकारले बेलैमा ध्यान दिनु आवश्यक छ । कुनै पनि बहानामा उपभोक्तामाथि खेलवाड गर्ने छुट कसैलाई छैन ।