पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२ माङ्जाबुङमा जारी सतासी मेला प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक फाक्चुवाले हात पारेको छ । सतासी मेलाको अवसरमा फाक्चुवा फा?सिङ चुम्भो सहारा समाजले आयोजना गरेको प्रतियोगितामा आयोजक फाक्चुवाले उपाधि हात पारेको हो । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङलाई १–० को कठिन जित निकाल्दै आयोजक फाक्चुवाले उपाधि चुमेको हो ।

उपाधि हात पार्न आयोजकका सुरेन लावतीले निर्णायक गोल गर्दै आफ्नो टिमलाई कठिन जित दिलाएका थिए । सुरुवाती समयदेखि दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो भने दोस्रो हाफको अन्तिम समयमा आयोजकका सुरेन लावतीले खेलको २७ औं मिनेटमा निर्णायक गोल गर्दै आयोजकलाई जित दिलाएका थिए ।

प्रतियोगिताको उपविजेता इम्बुङले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको थियो भने विजेता बनेको आयोजकले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक–२ का वडाध्यक्ष बालकृष्ण शेर्मा र ५ नं. वडाध्यक्ष निर्मलराज घिमिरेले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर आयोजकका निराजन लावती, बेस्ट प्लेयर सुरेन लावती, बेस्ट डिफेन्डर दुरेन लावती घोषित भए । उत्कृष्ट खेलाडीले नगद, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका थिए । त्यस्तै इम्बुङको तर्फबाट हाइस्कोररमा सुदीप नेम्वाङ घोषित हुँदै ट्रफी, मेडल र प्रमाण–पत्र हात पारे । भदौ २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टिम सहभागी रहेको आयोजक फाक्चुवा फा?सिङ चुम्भो सहारा समाजका अध्यक्ष मोहन लावतीले जानकारी दिए ।