धरान । भारतको वेस्ट बङ्गालमा आयोजित प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट धरानको एप्पल मन्टेश्वरी पनि सम्मानित भएको छ ।

नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित गर्ने क्रममा धरान–११ स्थित एप्पल मन्टेश्वरी इलेमेन्टरी स्कुलकी प्रिन्सिपल निर्मला इवारम ‘जुली’ पनि सम्मानित भएकी हुन् । उनलाई सम्मान पत्रसहितले सम्मानित गरिएको थियो । नेपालको शिक्षालय राष्ट्रिय मासिकको आयोजना तथा सार्क जर्नालिस्ट फोरम र रोटरी क्लब अफ दार्जिलिङको सहकार्यमा भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुल नर्थ पोइन्टमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मानित शिक्षासेवी तथा संस्थालाई गोर्खाल्यान्ड क्षेत्र प्रशासनिक सभाका उपाध्यक्ष राजेश चौहानले सम्मान पत्र हस्तान्तरण गरेको जुली इवारमले जानकारी दिइन् ।

सेन्ट जोसेफ स्कुलमा नेपालका पूर्वराजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, भुटानका वर्तमान राजा, थाइल्यान्डका राजपरिवारका सदस्यले पनि अध्ययन गरेका थिए । शिक्षालयका अध्यक्ष श्याम तण्डुकारका अनुसार दक्षिण एसियाली मुलुकमा सामुदायिक तथा निजीस्तरबाट सञ्चालित शिक्षालयहरूले नवप्रवर्तन, सिर्जनात्मकताका क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सम्मानित गरिएको जनाए ।

सम्मानित स्कुलहरूमा नेपालका जेम्स स्कुल जेन्ट जेभियर्स स्कुललगायत रहेका छन् । त्यस्तै भारत र भुटानका पनि विभिन्न शिक्षालयहरू तथा शिक्षासेवीलाई सम्मानित गरिएको छ ।