उपचारबापतको शुल्क नदिएको भन्दै अस्पतालले दुर्घटनामा घाइते भई उपचारको क्रममा मृत्यु भएका कोसी गाउँपालिका–३ स्थित जमुवाका एक युवाको शव नदिँदा पीडित परिवार दोहोरो पीडामा परेका छन् । 

मोरङ विराटनगरस्थित गोल्डेन अस्पतालले उपचारबापतको २७ लाख रुपैयाँ नबुझाएको भन्दै शव नदिएपछि पीडित परिवार दोहोरो पीडामा परेका हुन् । दुर्घटना गराउने सवारी धनीले अस्पतालमा लागेको शुल्क नतिरिदिँदा एकातिर शव प्राप्त गर्न सकेका छैनन्, अर्कोतिर क्षतिपूर्तिको आशा पनि मरेको छ । साउन २१  गते अन्दाजी राति ९ बजेको समयमा कोसी गाउँपालिका–२ राजापोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.४ ख २२६७ नम्बरको हायसले पैदलयात्री १८ वर्षीय विष्णुदेव ठाकुरलाई ठक्कर दिएको थियो ।

उनको दुवै खुट्टा र टाउकोमा चोट लागी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल गोल्डेन अस्पतालमा लगिएको थियो भने उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो । कोसी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मन्सुरीका अनुसार उपचार खर्चबापतको  २७ लाख रकम बुझाउन सवारी धनीले आनाकानी गरेपछि पीडित परिवारले शव पनि नपाएको र क्षतिपूर्ति पनि पाएको छैन । हायस सञ्चालकलाई पटक–पटक ताकेता गर्दा पनि रकम बुझाउन नमानेपछि शुक्रबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । 

हायस चालक मकवानपुर जिल्ला थाहा नगरपालिकाका २४ वर्षीय सुवास सिंहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिए पनि उपचार खर्चबापत रकम तिर्न आनाकानी गरेपछि वडाध्यक्षको नेतृत्वमा बाटो अवरुद्ध गरिएको हो । छोराको मृत्यु भए पनि उपचार खर्च तिर्न नसक्दा अस्पताल प्रशासनले शव दिन नमानेको मृतक विष्णुका बुबा ब्रह्मदेव ठाकुरले गुनासो गरे ।

‘उपचारको क्रममा मृत्यु भइसकेको छोराको शव दाहसंस्कार गर्न आफूहरूको जिम्मा लगाउन अस्पताल प्रशासनलाई पटक–पटक आग्रह गरे पनि उपचार खर्चबापतको रकम नबुझाएसम्म शव नदिने भयो’ उनले भने, ‘हायस सञ्चालकलाई उपचार खर्च बुझाउनु भन्दा उनीहरूले कुनै चासो लिएको पाइएन, त्यसैले हामी सडक आन्दोलन गर्न बाध्य भयौँ ।’ 

मृतकका आफन्त र स्थानीयबासीले मृतकको शव यथाशीघ्र परिवारलाई बुझाउनुपर्ने, पीडित पक्षलाई कानूनअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भन्दै राजमार्ग अवरुद्ध गरेका थिए । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले आन्दोलनरत पक्षसँग सहमतिअनुसार शुक्रबार रातिसम्म मृतकको शव बुझाउने तयारी भएको जानकारी दिए । मृतकको शव बुझाएपछि अनुसन्धानपश्चात् आवश्यक कदम चालिने उनले जानकारी दिए ।