धरान । ५९ औँ बाल दिवसको पूर्वसन्ध्यामा धरान–१८ स्थित माउन्ट हर्मन एकेडेमीको हर्मनिज किड्स क्लबले धरानका चार वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

किड्स क्लबले स्कुलमा पढ्ने बालबालिकाहरूको वर्षभरिमा पर्ने जन्मदिनको अवसरमा रकम सङ्कलन गरी सामुदायिक विद्यालयमा पढ्ने आफूजस्तै विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री दिँदै आएको हो । यो वर्ष धरानका सम्यक शिक्षा आधारभूत विद्यालय, दीपेन्द्र आधारभूत विद्यालय, पञ्चकन्या मा.वि. र ज्ञानोदय मा.वि.मा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । तीनवटा विद्यालय धरान–१७ कै हुन् भने ज्ञानोदय मा.वि. धरान–११ मा पर्छ ।

सम्यक र दीपेन्द्रमा दुई–दुई सय थान कापी, एक सय ५० थानका दरले पेन्सिल र इरेजर वितरण गरिएको माउन्ट हर्मनका शिक्षक सन्तोष कोइरालाले जानकारी दिए । उनका अनुसार पञ्चकन्या र ज्ञानोदयमा तीन–तीन सय थान कापी, इरेजर र पेन्सिलसहित खेलकुद सामग्रीमा क्रिकेट, फुटबल, बास्केबटल र ब्याडमिन्टनका सामग्री वितरण गरिएको छ ।
आफूजस्ता विद्यार्थीहरू लेख्न, पढ्नबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले जन्मदिनमा अन्य कार्यक्रम नगरी उक्त रकम स्कुलमा जम्मा गरी उक्त रकमले शैक्षिक तथा खेलकुद सामग्री दिँदै आएको स्कुलका निर्देशक अनुप योञ्जनले जानकारी दिए ।

स्कुलका प्रधानाध्यापकहरूले त्यस क्रममा खुसी व्यक्त गरेका थिए । यसक्रममा स्कुलमा पत्रिका प्रकाशन गर्ने समूहमा आबद्ध विद्यार्थीहरूले पत्रिका वितरण गरेका थिए भने हरित समूहले विद्यालय परिसरमा रहेको ह्याकिङ गार्डेनको सफाइ गरेको थियो । हरेक वर्ष नेपालमा भदौ २९ गते बाल दिवस मनाउँदै आइरहेको छ ।