सरोकारवाला निकायसँग समन्वय गरी एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउनेलगायत दुई पक्षीय सहमतिपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी शिक्षक कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबीच भएको तीन बुँदे सहमतिपछि शिक्षक, कर्मचारीले गर्दै आएको परीक्षा बहिष्कार लगायतका आन्दोलन स्थगित गरेका हुन् ।
६ वर्षदेखि १८ वर्षसम्म वृत्तिविकास र बढुवा नभएको भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले आन्दोलन गर्दै आएका थिए।

सहमतिमा २०८० पुस २० गते प्रकाशित आन्तरिक बढुवा, २०७९ माघ २५ गते प्रकाशित  सेवाको पदपूर्ति गर्नेको प्रकृयाको निरन्तरताको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवाला समेतको प्रयासबाट एक महिनाभित्र बाँकी रहेको विभागहरुका अन्तर्वार्ता संचालन गरी एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ । त्यस्तै आन्दोलनमा सहभागी शिक्षक-कर्मचारीप्रत पूर्वाग्रह नराख्ने र आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी आआफ्नो कार्यमा संलग्न हुने सहमति गरिएको छ ।

यस अघि वृत्तिविकासको माग गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारीहरुले परीक्षा शाखामा तालाबन्दीसमेत गरेका थिए ।

Bpkihs Aandolan firta2

प्रतिष्ठानका उपकुलपतिसँग बसेको शिक्षक कर्मचारीको छलफल निष्कर्षविहीन हुँदै आएको थियो । यश अघि  उपकुलपति प्राडा प्रह्लाद कार्कीले मन्त्रीसँग छलफल गरी निकास दिने आश्वासन दिएका थिए ।

शिक्षक कल्याण समाजले दिएको अल्टिमेटमको बेवास्ता गरेपछि शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्नालगायतका आन्दोलन गरेका थिए ।
प्रतिष्ठानमा बढुवा प्रक्रियामा १८ वर्षदेखि  रोकिएका शिक्षक कर्मचारी छन् । बढुवा रोकिएका शिक्षक चिकित्सक प्रतिष्ठान छाड्नेहरुको तथ्यांकसमेत उल्लेखीय छ । अनुभवी शिक्षक, चिकित्सकले प्रतिष्ठान छाड्न थालेपछि प्रतिष्ठानको विश्वसनीयता र आर्थिक अवस्था धरासायी हुँदै गएको आन्दोलनकारीले बताउँदै आएका थिए ।

बिपी प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा लोकसेवा आयोगले भदौ ७ गते प्रेषित पत्र र प्रतिष्ठानमा सोमबार दर्ता गरिएको पत्रमा बढुवा र पदपूर्तिमा बन्देज लगाएको छ । आयोगले निर्णय गर्दै सहमति लिएर मात्र पदपूर्ति सम्बन्धि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भनेको छ ।
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०७९’ र ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०७९’ को प्रस्तावित मस्यौदामा संगठन, संरचना र दरबन्दीको विषयमा सम्बन्धित मन्त्रालय र नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति तथा नियुक्ति, बढुवा, विभागीय कारबाहीलगायतका अन्य विषयमा सम्बन्धमा उक्त नियमावलीको मस्यौदामा उल्लिखित व्यवस्थाबमोजिम हुने गरी आयोगको गत २०७९ माघ १२ मै बैठकले परामर्श गरेको उल्लेख छ । आयोगले परामर्शका विषयमा आधारभूत फेरबदल नहुने सुनिश्चिततासहति प्रतिष्ठानलाई पत्राचार गरेको छ ।   

प्रक्रियामा रहेको वृत्तिविकाससम्बन्धि प्रक्रियालाई लोकसेवाबाट प्रायोजित ढंगले गलत रिपोर्ट पेश गरी प्रतिष्ठानको नाममा चिठी पठाइएको शिक्षक कल्याण समाजको आरोप छ ।