पत्रकारहरूको शुद्धीकरणका विषयमा छलफल नगरी चोर बाटोबाट लगे आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रेस चौतारीले चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कमिटीले शुद्धीकरण अभियानका नाममा गरेको कैफतपूर्ण सिफारिसलाई  समेत चोर बाटोबाट नाम थप्ने, पूर्वाग्रही रुपमा आफूखुसी थपघट गर्ने, तोडमोड गर्ने गरेको भन्दै प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीले आपत्ति जनाएको छ ।

आज चौतारी प्रदेश कमिटीले प्रेस वक्तव्य जारी गर्दै सदस्यता शुद्धीकरणकै क्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले गर्दै आएका पूर्वाग्रहपूर्ण गतिविधिलाई प्रेस चौतारी नेपालले नजिकबाट नियालि रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
शुद्धीकरण अभियानलाई मापदण्डअनुरुप कार्यान्वयन गराउन यसअघि समेत ध्यानाकर्षण गराई सकिएको सन्दर्भमा आग्रहलाई लत्याउँदै आस्थाका आधारमा सदस्यताबाट कसैलाई पनि बञ्चित गराउने कार्य गरे थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न प्रेस चौतारी बाध्य हुने चेतावनी दिइएको छ ।

चौतारीले सदस्यता शुद्धीकरणका लागि महासंघले निर्धारण गरेको १५ बुँदै मापदण्डलाई तोडमोड नगरी कार्यान्वयन गराउन जोड दिएको छ ।

महासचिव गोपाल झापालीद्वारा जारी विज्ञप्तिमा
प्रेस चौतारी नेपालको आग्रहलाई कमजोरी नठान्न तथा महासंघको साझा र छाता संस्थाको रुपमा स्थापित गरिमालाई सम्मान गर्न अनुरोध गरिएको छ । साथै शुद्धीकरणमा समस्या देखिए छलफलको माध्यमबाट समस्याको समाधान गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिलाई चौतारीले आग्रह गरेको छ ।