बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षक चिकित्सक र कर्मचारीले वृत्तिविकास (प्रमोसन) प्राप्त नगरेको ६ वर्षदेखि १८ वर्षसम्म भयो । यतिका समय बितिसक्दा पनि प्रतिष्ठान व्यवस्थापन संवेदनशील छैन । शिक्षक चिकित्सकको प्रमोसन नहुँदा प्रतिष्ठानमा आउने विद्यार्थी संख्या घट्दै गएको छ । भने प्रतिष्ठानलाई उत्तिकै आर्थिक भार थपिंदै गएको छ । आन्तरिक पदपूर्ति र बढुवा प्रक्रियामा प्रतिष्ठान नेतृत्वले काम गर्न नसक्दा, पदाधिकारीबीचमा समन्वय नहुँदा प्रतिष्ठान धराशायी बन्दै गएको छ । पदपूर्ति र बढुवाको माग गर्दै प्रतिष्ठानका शिक्षक कर्मचारी आन्दोलित छन् । त्यस्तै शिक्षक चिकित्सक हुन् धरानका स्थानीय रविन मास्के । सन् २००१ देखि प्रतिष्ठानमा काम सुरु गरेका उनी यतिबेला प्राध्यापक भइसक्नुपर्ने हो । तर, ७ वर्षदेखि उनको वृत्तिविकास रोकिएको छ । 

हाल उनी एडिस्नल प्रोफेसर र इन्टरनल मेडिसिनको हेड अफ डिपार्टमेन्ट हुन् । शिक्षक चिकित्सकहरुको आन्दोलन र अस्थिरताका बारे उनीसँग हामीले कुराकानी गरेका छौं । यहाँ उनको भनाइ राखिएको छ ।

***

यहाँ (बिपी प्रतिष्ठानमा) मैले एज अ हाउस अफिसर जोइन गरेको हो । यहीँबाट एमडी गरें । सन्  २०१६ मा एडिस्नल प्रोफेसर भएँ । ७ वर्ष भयो । प्रमोसनका लागि कुरा उठाउँदै गर्दा पनि अड्चन आइरहेको छ । प्रमोसन मात्र एउटा इस्यू हो । अरु थुप्रै कुरा छन् । अहिले सबैभन्दा ठूलो इस्यू यही भयो । किनभने प्रमोसन भएन भने धेरै कुरा हुँदैन ।

म एचओडी भएँ । अब प्रोफेसर भइनँ भने यहाँका विद्यार्थीको संख्या पनि बढ्दैन । फ्याकल्टीहरुको प्रमोसन भएन भने मोटिभेट पनि हुँदैनन् । म आफैं मोटिभेट भइनँ भने अरु हुने कुरै भएन । विद्यार्थी नबढेपछि यहाँ आर्थिक भार पनि बढ्छ । आर्थिक भार बढेपछि क्वालिटी पनि घट्दै जान्छ । 

यहाँका अन्तरद्वन्द्व पोलिटिक्सका कारण नै भइरहेको छ । कुरा बिग्रिरहेको छ । यो भिसीको कुर्सीमा जो आउनु हुन्छ, उहाँले आफ्ना तलका रेक्टर, डाइरेक्टर, रजिष्टारलाई मिलाएर लानै सक्नु भएको छैन । चार जना मिलेर नजाँदा विकृति आइरहेको छ । कुर्सीमा जो बस्नुहुन्छ, उहाँले प्रोब्लेमहरु सल्भ गर्नका लागि एकअर्कामा सल्लाह गरेर अगाडि गएन भने इस्यू अवश्य हुन्छ– प्रमोसनको इस्यू मात्र होइन । हाल पठनपाठन मात्रै बन्द भएको छ । यो बढ्दैबढ्दै हस्पिटल सर्भिसहरु, प्यासेन्ट सर्भिसहरु बिग्रेर जान्छ । प्रमोसनमा मात्र होइन सानासाना कुराहरुमा पनि यहाँ विकृति छ । 

सरकारले पनि खासै सहयोग गरिरहेको छैन । आफैं कमाउ, आफैं गर भन्छ । आफैं गर्नका लागि पनि त हामी मोटिभेट हुनपर्यो । कर्मचारीदेखि लिएर डक्टरहरु दिनरात काम गरिरहेकै छन् । १२ सय कर्मचारीको १८ वर्षदेखि प्रमोसन भएको छैन । फ्याकल्टीहरुको आठौ वर्षदेखि कसैको सात वर्षदेखि प्रमोसन भएको छैन । १२ सय कर्मचारी र ३०–४० जना फ्याकल्टी, एसआर (सिनियर रेसिडेन्स) को प्रमोसन नहुँदा कस्तो हुन्छ ? 

यो एउटा उदाहरण हो । पछिपछि अरु कुराहरु पनि भन्दै जाउँला । यो उदाहरण मात्र हो । 

लोकसेवा आयोगले अंकुश लगाएको होइन । लोकसेवाको दोष होइन । यहाँबाट हाम्रै मान्छेहरु गएर प्रश्न सोधेपछि उहाँहरुले मात्र उत्तर दिनु भएको हो । यस अघिका एक्टिङ भिसीले आँट गरेर इन्टरभ्यू गराउनु भयो । लोकसेवाले एक पटकलाई प्रमोसन गराउनु भन्यो । विज्ञापन खोलेर १७ जना (लगभग आधा फ्याकल्टी) को इन्टरभ्यू भइसकेको थियो । बाँकी रहेका डिपार्टमेन्टको प्रमोसन गरेर कर्मचारीको इन्टरभ्यू गर्ने उद्देश्य थियो । त्यसलाई सिनेटमा लगेर पास गर्ने कुरा थ्यो । तीन महिनाभित्र हुन सक्ने काम थियो । 

नयाँ भिसी आउनेबित्तिकै उहाँले रजिष्टार, रेक्टर र डाइरेक्टरलाई मिटिङमा राखेर अगाडि पो कुरा बढाउने हो त । उहाँले सिधै लोकसेवामा गएर चिठी दिएपछि आयोगले उत्तर दिने भइ नै हाल्यो । जस्तो क्वैसन सोधिएको छ, त्यस्तै उत्तर आएको हो । लोकसेवाले अड्काउन खोजेको छैन । आयोगले नियम कानुन फलो गर्ने हो । एकपटकलाई गर्नू भनेर दिएकै हो । नियम कानुन फलो गरेर अगाडि जानू भनेको हो । लोकसेवाले अंकुश लगाएको होइन । एन्सर दिएको हो । 

Dr Rabin Maske HOD Internal Medicine BPKIHS Dharan

चिकित्सक पलायन हुनुको एउटा कारण प्रमोसन नै हो । र, अर्को काम गर्ने वातावरण । काम गर्ने मान्छेलाई एचओडीहरुले पेलेको पेलै छ । म पनि एचओडी हो । मेरो मनशाय त्यस्तो छैन । त्यस्तै अर्को कारण काम गर्ने मान्छेलाई माथि जान नदिने र स्यालरीको कुरा । हामी बाहिर प्राक्टिस गर्न जाँदैनौं । स्यालरी अरु ठाउँ हेरेर यहाँ धेरै कम छ । जति काम गरेको हो, त्यो भन्दा धेरै कम छ । स्यालरी पनि वृद्धि नहुने र प्रमोसन नहुने कारणले डाक्टर पलायन भइरहेका छन् । 

डाक्टर साबहरु, जुनियरहरु, मेरै साथीहरु मोटिभेट हुन सकेनन् । माथिबाट सपोर्ट नपाएर पनि उनीहरु पलायन हुँदैछन् । जुन हामीले पाइरहेका थियौं– वर्षमा एन्युल ग्राण्ड, कन्फरेन्स ग्राण्ड । यी सेवा सुविधाहरु काट्दै गइरहेको छ । यो आर्थिक भार परेर पनि हो । डाक्टरको प्रमोसन गरिदियो भने उहाँहरु बस्नुहुन्छ । मेडिसिन डिपार्टमेन्टमा पहिले १५–२० जना थियौं । सबै डिपार्टमेन्ट थियो । अहिले हामी कार्डियो, पल्मो, ग्यास्ट्रो, मेडिसन छुट्टिएका छौं । यो १० वर्ष १५ वर्षमा यहाँ बस्नुपर्ने खाल्का मान्छे १५–२० जना त पलायन भइसके । अब हामी मात्र बाँकी छौं । लोकल भएर यहाँ बसेको हो । अरु पनि केही बसिरहनु भएको छ । तर पलायन हुने क्रम अहिले पनि जारी नै छ । एकदुई महिना अगाडि एकजना ग्यास्ट्रो डिपार्टमेन्टको जानु भयो । त्यो भन्दा अघि कार्डियोबाट जानु भयो । अहिले पनि जाने क्रम जारी छ । यस्तै ताल हो भने म पनि जानुपर्ने हुन्छ ।