धरानमा बिहानैदेखि सिमसिम पानी परेको छ । शितल छ अनि मनोरम पनि छ । स्वभावैले धरान पानी परेपछि सुन्दर देखिन्छ नै । सडकमा छिटफुट मोटर गाडी कुदेका छन् । वातावरणीय दृष्टिले आज रमणीय छ धरान । दिउँसो मन्द घाम लागेको छ । सिरसिरे हावा चलेको छ ।

राजनीतिका सामाजिक वृत्तमा आज धरान कस्तो छ ? सबैको चासो र चिन्ताको विषय छ । केही दिनदेखि सामाजिक सद्भाव भड्किने अभिव्यक्तिका कारण धरान असहिष्णु त बनेको छैन ? आम चासो आज धरानमा केन्द्रित छ । 

हिन्दूवादी संघसंगठनको र्याली र पहिचानवादीहरुको भेलाले हुने भनिएपछि धरानमा मुठभेट सिर्जना हुने हो कि ? भन्ने चिन्ता सर्वत्र थियो । यस्तो परिस्थिति सिर्जना हुन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

सामाजिक सद्भावलाई अक्षुण राख्न धरानका राजनीतिक दल, पूर्व जनप्रतिनिधि र नागरिक तहबाट धरानमा सद्भाव र शान्तिका लागि र्याली निकालियो । 

साम्प्रदायिक र सामाजिक सद्भाव बिथोलिने अनुमानपछि प्रशासनले २४ घण्टे निषेधादेश जारी गर्यो । त्यस अघि पूर्वजनप्रतिनिधिले सद्भावका लागि नागरिकलाई आह्वान गरे । बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक चेतना बोकेको धरान आज कस्तो छ त ? हामीले सरोकारवालासँग प्रतिक्रिया लिएका छौं ।