नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सरकार निर्माणका सम्बन्धमा भइरहेका राजनीतिक गतिविधिमा असन्तुष्टी व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताए । माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएको प्रसंग उल्लेख गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको बताएका हुन् ।
गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाएका छन् ।
५० सांसदसहित एमालेको सरकार
एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा ५० सांसदसहित एमालेको सरकार बन्ने बताएका छन् । देशको आर्थिक विकास गर्नका लागि दलहरु मिल्नु पर्ने समेत उनले बताएका छन् ।
सरकारले गिरीबन्धु टि स्टेटको कुरा निकालेर सरकारले चिल आयो चिल आयो भनेर कुखुरा चोर्ने काम मात्रै गरीरहेको बताएका छन ।
आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण आवश्यक
एमाले अध्यक्ष ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन् ।
तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे ।
पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले दुई ठूला जिम्मेवार राजनीतिक दलले मुलुकमा सुशासन, आर्थिक विकासका लागि मिलेर आगाडि बढ्नुपर्नेमा दुई मत नरहेको स्पष्ट पारे । उनले एमाले सरकार निर्माण गर्नेतर्फ ध्यान नदिएको भन्दै राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रित रहेको धारणा राखे ।