धरान उपमहानगरपालिकाको १७ नम्बर वडामा नेपाल प्रहरी श्रीमती संघ  कोशी प्रदेशले झुल, लाम्खुट्टे भगाउने धुप र ओडोमस वितरण गरेको छ । 

वडाका विभिन्न टोलबाट सीमान्तकृत वर्गहरूलाई छनोट गरी १ सय ७० घर परिवारलाई झुल, लाम्खुट्टे भगाउने धुप र ओडोमस वितरण गरेका हो । 

मंगलबार १७ नम्बर वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा वडाका डेंगी प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई झुल वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै  डिआइजी बास्तोलाले पछिल्लो समय देशभर नै डेंगी प्रकोप बढेको भए पनि धरानमा त्यसको मार उच्च रहेको अवस्थामा नेपाल श्रीमती संघले  संघको तर्फबाट गरेको प्रयासको सराहनीय रहेको बताएका छन् । 

उनले विगत देखी नै संघले समाजसेवामा आफ्नो उपस्थिति अग्रणी रूपमा राखेको बताउँदै मानिसका विभिन्न पिडामा खास गरी सीमान्तकृत वर्गलाई गर्दै आएको सहयोग धन्यवाद योग्य रहेको बताएका छन् । झुल वितरण गदै संघकी सचिव सिर्जना नेपाल दाहालले धरानमा डेङ्गीको सङ्क्रमण बढ्दै गएकाले त्यस मध्ये पनि प्रभावित क्षेत्रका सीमान्तकृत समुदायकालाई सहयोग गर्ने उद्देश्यका साथ झुल वितरण गरिएको बताइन् । 

उनले भनिन् ‘ यहाँ सुकुम्वासी क्षेत्र पनि अलि बढी रहेको र निम्न वर्गका मानिसको बसोबास भएकाले हामीले यो वडामा आएर वितरण गरेका हौँ । हामी एक सय पचास घर परिवारलाई एक परिवार बारबार एउटा झुल वितरण गनेका थियौँ । कार्यक्रमको बारेमा सुनेर अलि बढी मान्छे आउनुहुन्छ होला भनेर १७० वटा झुल लिएर आएका छौँ । यो सबै बाँड्छौँ ।’