भद्रपुर। मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने एक महिला रुख ढलेर  घाइते भएकी छन् ।

झापाको पूर्व पश्चिम मुख्य सडक खण्ड नजिकै रहेको मेचीनगर १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा आइतबार बिहान अचानक रुख लड्दा मेचीनगर १२ कालिझोडा बस्ने अन्दाजी ३२ वर्षीया सृजना खरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिहान साढे आठ बजेको समयमा पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा अविरल वर्षाका कारण सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने महिलालाई रुखको हाँगाले लागेर घाइते भएको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

उनलाई उपचारको लागि मनकामना अस्पताल चारआली लगिएको उनले बताए । घाइतेको बाहिरी चोट नरहेको ,ढाड, बायाँ कुमको भित्री भागमा चोट लागेको र अवस्था बोल्न सक्ने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिगई रुख हटाएको उनले बताए । बिहान झरीको कारणले मानिसको चहलपहल कम भएकोले ठूलो क्षति हुन नपाएको र पूजा सामग्री बेच्ने उनकी नातिनी सृजनालाई सामान्य चोट लागेको र हाल अस्पतालमा रहेको उनले जानकारी दिए ।