पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकाले किसानलाई वितरण गर्न नसकेको बेसारको बिउ रोपेको छ । अनुदानमा किसानलाई वितरण गर्न खरिद गरेको बेसार जनप्रतिनिधि, कर्मचारी स्थानीयको पहलमा रोपिएको हो ।
बेसारको बिउ बोरामै उम्रिएको शीर्षकको समाचार ब्लाष्ट राष्ट्रिय दैनिकमा साउन ६ गते प्रकाशन भएपछि गाउँपालिकाले कुम्मायक–३ को हात्तिपोखरीमा बेसारको बिउ रोपेको हो । आर्थिक वर्ष २०७९/०८० को ३ लाख ४० हजार ४० रुपैयाँमा खरिद गरेको १ सय २० मन बेसार मध्ये ३५ बोरा बेसारको बिउ बारीमा रोपेको हो ।
गाउँपालिकाले यस अघि पनि सोही स्थानमा बेसारको बिउ रोपेको थियो । बाँकी रहेको बेसारको बिउ पनि सोही स्थानमा रोपिएको गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । “हामीले बाँकी रहेको बेसार बारीमा रोप्न तयारी गरेका थियौँ ।
यो विषयमा सामाजिक संञ्जालमा आवश्यक टिकाटिपणी भयो खड्काले भने बाँकी रहेको सबै बेसार रोपेका छौ । यसको रेखदेख गाउँपालिकाले गर्छ ।’
गाउँपालिकाले कुम्मायक—३ को हात्तिपोखरीमा स्थानीयको २० रोपनी बाँझो जमिनमा बेसार रोपेको छ । वार्षिक १० हजार जग्गाधनीलाई उपलब्ध गराएर सो जग्गामा बेसार रोपेको हो । २० रोपनी क्षेत्रफलमा नआँटेको बेसारको बिउ अन्य खाली जग्गामा रोपेको गाउँपालिकाले जनाएको छ ।
बाँझो जमिनमा उपाध्यक्ष खड्का सहितको टोलीले हाते ट्याक्टरको प्रयोग गरी बेसार रोपिएको थियो । बेसार रोप्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, कृषि शाखा प्रमुख सविन खतिवडा सहित पालिकाका कर्मचारी र स्थानीयको टोलीलाई दुई दिन लागेको थियो ।