धरान । अभिनेता सारुक ताम्राकारको निधनको विषयलाई लिएर सामाजिक सञ्जाललगायत अनलाइनहरूमा आएको समाचार र भनाइबारे नेपाल चलचित्र कलाकार सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष मोहन निरौलाले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिनेता ताम्राकारको निधनका विषयसँग जोडिएका भनाइ र समाचारबारे ध्यानाकर्षण भएको जनाएको हो ।

अभिनेता ताम्राकार निधनको अघिल्लो दिनसम्म ‘ह्यासट्याग माया’ फिल्ममा अभिनय गरिरहेका थिए । उनी असार २१ गते काठमाडौँको रातोपुलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । सङ्घले ताम्राकारको निधनले चलचित्र उद्योगमा अपूरणीय क्षति पुगेको भन्दै घटनाको न्यायिक छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउन माग गरेको छ ।

ताम्राकार  सङ्घका सदस्यसमेत हुन् । छानबिन गर्ने निकायले सत्य–तथ्य छानबिन गरी दोषी देखिएको हकमा कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । यता यसघटनालाई प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

कतिपयले ताम्राकारलाई आत्महत्या गर्न बाध्य पारिएको भनी छानबिनको माग गरे पनि उनको परिवारले भने हालसम्म प्रहरीमा कुनै उजुरी नदिएको जनाइएको छ । उनले प्रयोग गर्ने मोबाइल फोनलाई डिजिटल फरेन्सिक ल्यावमा पठाइएको छ । ल्यावबाट मोबाइलको रिपोर्ट आएपश्चात् थप अनुसन्धान अगाडि बढ्ने काठमाडौँ प्रहरी परिसरले जनाएको छ । मोबाइलमा शङ्कास्पद कुराहरू देखिएको हकमा भने आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता हुने जनाइएको छ ।

ताम्राकार आफ्नै निवासमा प्लास्टिकको पाइपमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । ३१ वर्षीय ताम्राकारको डेब्यु फिल्म रानी हो भने हालसम्म मेरी मामु र इन्टु मिन्टु लन्डन फिल्ममा अभिनय गरेका थिए । पछिल्लो समय उनी ह्यासट्याग मायामा चलचित्रको छायाङ्कनमा व्यस्त रहेका थिए ।