धरान । कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा धरानको आर्दश स्कुल च्याम्पियन भएको छ ।

युनाइटेड डान्स एकेडेमी धरानको आयोजनामा शनिबार धरान–१५ स्थित शिक्षासदन स्कुलमा सम्पन्न प्रतियोगितामा झापाको होलीबेल स्कुल दोस्रो भएको छ ।

त्यस्तै धरानको पर्वत सेकेन्डरी स्कुल तेस्रो हुँदा वराहक्षेत्रको वराह राइजिङ स्कुल चौथो भएको छ । विजेता भएको आदर्शले नगद ५० हजार रुपैयाँसहित ट्रफी पाएको छ । यस्तै दोस्रोले नगद २० हजार, तेस्रोले नगद १० हजार र चौथोले नगद ५ हजार रुपैयाँ पाएको युनाइटेड एकेडेमीका अध्यक्ष सन्तोष लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट नृत्य कोरियोग्राफर दमकको सरस्वती माविका कृष्ण साहलाई प्रदान गरिएको थियो ।

मौलिक कला संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ । विजेताहरूलाई धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले पुरस्कृत गरे ।

प्रतियोगितामा सुनसरी, झापाका गरी ११ वटा स्कुलले प्रतिस्पर्धा गरेका थिए । यस्तै नृत्यकर्मी युनाइटेड डान्स एकेडेमीका नृत्य निर्देशक प्रितम सम्बाहाम्फे लिम्बूलाई नगद ५ हजार ५ सय रुपैयाँका साथ सम्मानित गरिएको छ ।