सवारी दुर्घटना विपद्को रूपमा परिभाषित भएको धेरै भइसकेको छ । यतिसम्मकि सरकारले सामाजिक विषयमा विपद्का प्रकारमध्ये सडक दुर्घटनालाई पनि एउटा प्रकारमा राखेको छ । तर, यसलाई नियन्त्रण गर्न तथा रोकथाम गर्नका लागि भरपर्दो उपाय अवलम्बन गरिएको पाइँदैन । नेपालमा प्रत्येक दिनजस्तै दुर्घटना भइरहेको छ । त्यो सडक दुर्घटना होस् या आकाशमा हुने दुर्घटना । नेपालमा हालै ७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाइन्सको विमान दुर्घटना ताज्य छ । अझ हिजो मात्रै सुर्खेतको वीरेन्द्रनगरमा ४ जना चिकित्सकको ज्यान जाने गरी सडक दुर्घटना भयो । यस्ता दुर्घटना दिन प्रतिदिन भइरहेका छन् तर, हाम्रो चासो त्यसतर्फ पर्न सकेको छैन । आखिर किन ? हाम्रा सरकार तथा कार्यान्वयन तहमा रहेका निकायहरू किन गम्भीर बन्न नसकेका हुन् ? यो प्रश्न अनुत्तरित नै छ ।

प्रहरीको एउटा आँकडाले भन्छ– ‘प्रत्येक वर्ष २८ हजारभन्दा बढी दुर्घटना हुन्छन् । त्यसमध्ये २५ सयले अकालमा ज्यान गुमाउँछन् ।’ अङ्गभङ्ग, क्षति तथा अन्य विषय झनै धेरै छ । सोही कारण पनि यसलाई विपद् मानिएको हुनसक्छ । विपद् दुई कारणले सृजित हुन्छन्, एउटा प्राकृतिक र अर्को मानवीय । सडक दुर्घटना मानवीय कारणले सृजित विपद् हो । यसलाई रोकथाम गर्न सकिने आधारहरू प्रशस्त छन् । सर्वप्रथम त सरकारले सडक निर्माण गर्दा त्यसको चौडाइ अर्थात् फराकिलो बनाउनेतर्फ ध्यान दिनुपर्छ । हरेक क्षेत्रमा पक्की सडकको व्यवस्था गर्ने, ट्राफिक सङ्केत तथा जनाऊ दिने सङ्केतहरू राख्ने गर्नुपर्छ । त्यसका अलवा तालिमप्राप्त व्यक्तिलाई मात्रै चालक अनुमति–पत्र (लाइसेन्स) दिने गर्नुपर्छ । यस्ता विविध उपायहरू अपनाउने हो भने पनि धेरै हदसम्म दुर्घटनामा कमी आउने थियो । त्यस्तै सवारीको मर्मतसम्भार, क्षमताभन्दा बढी भारबहन नगर्ने, निश्चित अवधिभन्दा बढी भएको सवारी साधनको विस्थापन पनि दुर्घटना न्यूनीकरण गर्ने उपायहरू हुन सक्छन् । यसमा केही हदसम्म सरकारले पाइला नचालेको होइन तर, पर्याप्त छैन । सरकारले यस विषयमा कडाइका साथ नियम पालना नगर्ने चालकको हकमा कडा कारबाही गर्ने व्यवस्था नहुँदाको परिणाम पनि लापरबाही र त्रुटिहरू हुँदै आएका छन् । यसतर्फ पनि सरकारले विचार गर्नुपर्ने देखिन्छ ।

सरकारले जेजति कामहरू गर्न खोजेका छन् । ती मूर्तभन्दा पनि अमूर्त किसिमका छन् । जस्तो दुर्घटनापश्चात् छानबिन समिति गठन गर्ने र उक्त छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रवृत्ति छ । तत्कालीन समयको आक्रोसलाई मत्थर पार्नका लागि गरिने यस्ता कार्य नै त्रुटिपूर्ण छ । प्रतिवेदनले खुट्याएका समस्या के के छन्, आगामी दिनमा के के सुधार गर्न सकिन्छ, के कुरालाई बढीभन्दा बढी ध्यान दिनुपर्छ वा दिनका लागि निर्देशन दिनुपर्छ ? भन्नेतर्फ कत्ति पनि ध्यान दिएको पाइँदैन । सरकार आफ्नो दायित्वबाट अलग हुँदा यस्ता विपद्ले आज डरलाग्दो रूप धारण गरिरहेको छ । हरेक कुरालाई निमिट्यान्न पार्नका निम्ति सरकार नै सजग हुनुपर्छ । किनकि कानून निर्माण गर्ने र पालना गराउने दायित्व सरकार र सरकारका अङ्गहरूबाटै हुन्छ । त्यसकारण पनि सरकार यस्ता विपद्मा आजका दिनबाट सुधार गर्नेतर्फ नलाग्ने हो भने भविष्यमा हामीले होनहार पुस्ताहरू गुमाउँदै जानेछौँ । जसरी वीरेन्द्रनगरमा ४ जना चिकित्सकले ज्यान गुमाए, त्यसरी नै कयौँ युवा शक्तिहरू गुमाउँदै जानेछौँ ।