महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गतेका दिन इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका वडा नं. २ चुक्चिनाम्बामा भएको थियो । पिता जगनबाज लिङ्देन र माता हंसमति पेघाको साइँलो छोराको रूपमा जन्मेका उनको न्वारानको नाम नरधोज थियो । धेरै सन्तान गुमाउनु परेकाले मातापिताले बालक नरधोजलाई फलामको चुरा र कल्ली हात, खुट्टामा लगाइदिएकाले उनको बोलाउने नाम फलामसिंह पनि भयो । भनिन्छ, उनी बाल्यकालदेखि नै जप, तप गर्ने ध्यानी थिए । ईश्वरको भक्ति आराधना गर्ने तपश्वी थिए । 

त्यसबेला गरिबी र अशिक्षा सबैतिर व्याप्त थियो । फलामसिंह लिङ्देन हुर्किंदै गए, जवान भए । गरिबी र पछौटेपनले फलामसिंहलाई पनि अङ्ग्रेज पल्टनले बर्मासम्म डो¥याएर पु¥यायो । वि.सं. १९६३ मा २१ वर्षको कलकलाउँदो उमेरमा बर्माको अङ्ग्रेज पल्टनमा भर्ना भए । पल्टनमा पनि ईश्वरको ध्यान तपश्यामा लीन रहने भएकाले उनलाई ध्यानी भनेर चिन्थे । हवल्दारसम्मको दर्जा पाएका फलामसिंहको पेशागत जीवन र उनको व्यक्तिगत स्वभावमा पटक्कै मेल खाएन । सेनाको धर्म नै परिआएको खण्डमा मान्छे मार्नु हो । तर, उनी अहिंसावादी थिए । त्यसैले वि.सं. १९७७ मा पल्टनबाट नाम कटाई शान्तिको खोजीमा हिँडे । बर्माबाट उनी भारतका विभिन्न ठाउँ र भुटान हुँदै १९७८ मा स्वदेश आप्mनो जन्मस्थान आइपुगे । पैसा कमाउन पल्टन गएका उनै फलामसिंह रुपैयाँ पैसा, सुन चाँदी, लत्ताकपडा केही नलिई साधुको भेषमा फाल्गुनन्द पो भएर आइपुगे ।

त्यसताका समाजलाई गरिबी, अशिक्षा, पछौटेपन र रुढीबादी कुसंस्कारले छपक्कै गाँजेको थियो । आप्mनो समाजको यो दुर्दशा देखेर सामाजिक र धार्मिक सुधारको माध्यमबाट समाजलाई अगाडि बढाउने सोच गरी उनले सामाजिक सुधारको अभियान अघि बढाए । याक्थुङ (लिम्बू) समुदाय प्रकृतिपूजक भएकाले प्रकृतिमा पाइने वस्तुहरू ढुङ्गा, माटो, खोलानाला, डाँडाकाँडा, वन जङ्गल, जीवजन्तु आदि मन्साउने र पुज्ने चलन छ । पूजाआजामा जीवजन्तुको भोग बलि दिने र मदपान चढाउने चलन छ । परम्परागत पुजारी येबा, फेदाङ्मा, साम्बाद्वारा जीवनरक्षा र अनुष्ठानिक संस्कार सम्पादन गर्दै आएको याक्थुङ समुदायमा महागुरु फाल्गुनन्दको आगमनपछि यी सबै परम्पराहरूको क्रमभङ्गता सुरु भयो ।

महागुरु फाल्गुनन्दले पूजाआजामा भोग बलि र मदपान चढाउने प्रथालाई पूर्णरूपमा निषेध गराए । त्यसको साटो धुपबत्ती, फलफूल र नैवेद्यबाट पूजाआजा गर्ने धार्मिक प्रचलनको सुरुवात गराए । प्रकृतिका सारा जीवजन्तु ईश्वरका सन्तान हुन् । ईश्वरले आफ्नै सन्तानको रगत स्वीकार गर्दैन, त्यसैले पूजाआजामा रगत नचढाउनू भन्ने उनको मूल उपदेश थियो । मुन्धुम अनुशरण गर्ने याक्थुङ समुदायले सम्पूर्ण जीवन र जगत्लाई मुन्धुमको आँखाबाट हेर्दछ, बुझ्दछ ।

तुम्याहाङ, येबा, साम्बा, फेदाङ्माहरूलाई मुन्धुमको स्रोत मानिन्छ र उनैबाट मौखिकरूपमा फलाक्दै गाउँदै पूजा गर्ने प्रचलन छ । श्रुतिपरम्परामा आधारित मुन्धुमलाई याक्थुङ भाषा लिपिमा लिपिबद्ध गर्न लगाए । भोग बलि र जीव हिंसाको साटो फलफूल, धुपबत्तीको प्रयोग, येबा, फेदाङ्माको साटो याक्थुङ पुरोहित, मौखिक मुन्धुमको साटो लिखित मुन्धुम वाचनको माध्यमबाट यज्ञ, होमादी, चरु पोल्ने, शङ्ख, डम्मरु, एकतारे, त्रिशूल र ॐ कारको प्रवेशले याक्थुङ समुदायमा ठूलो हलचल मच्चायो । वास्तवमा यी सबै परम्पराविरुद्ध र आम सामाजिक प्रचलनभन्दा बिल्कुल नौलो थियो र फाल्गुनन्दद्वारा प्रतिपादित यो नौलो धार्मिक संस्कारलाई सत्यहाङ्मा पन्थ भनियो ।

उनले सामाजिक सुधारको अभियान चलाउँदा अशिक्षा र पछौटेपनले गाँजेको याक्थुङ समुदाय र लिम्बुवान क्षेत्रलाई आफ्नो कर्मथलो रोजे । धार्मिक अनुष्ठान, ज्ञान तथा उपदेश बाँड्ने माध्यम पनि आफ्नै याक्थुङ भाषा र लिपि अपनाए । यसको साथसाथै पूजाको विधि विधानमा ॐ कार लाउने, यज्ञ होमादी, चरु हवन, शङ्ख, डम्मरु, एकतारे, त्रिशूल आदि भिœयाएर याक्थुङ समुदायले अगाडि कहिल्यै अभ्यास नगरेको नौलो संस्कारको सुरुवात गरे । यसरी लिखित याक्थुङ मुन्धुम र जीव हिंसारहित जसमनि साधु विधि विधानको सम्मिश्रणबाट नयाँ वर्णशङ्कर संस्कारको जन्म हुन गयो र यो नै सत्यहाङ्मा पन्थ कहलियो । उनको यो नयाँ वर्णशङ्कर धार्मिक प्रचलनबाट प्रभावित भएर छिटपुटरूपमा चेलाहरू बढ्दै गए तापनि व्यापक हुन सकेको थिएन ।

समाजमा नयाँ कुरा एकैचोटी पच्न सक्दैन । परम्परागत संस्कार र संस्कृतिलाई ठाडो चुनौती भएकोले यसको विरोध पनि त्यतिकै भइराखेको थियो । समाज सुधार अभियानलाई व्यापकता दिन वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. ५ स्थित तिलिङ्जङ लब्रेमा तत्कालीन १७ थुम १० लिम्बुवानका सुब्बाहरूको चुम्लुङ (भेला) बोलाई १० बुँदे सत्यधर्म मुचुल्का गराए । सत्यधर्म मुचुल्काको मूल सार सत्वचन, सत्विचार, सत्कर्म थियो । पूजाआजामा जीव हिंसा नगर्नू, भोग बलि, मदपानको साटो फलफूल, धुपबत्तीले गर्ने, छोरा र छोरी समान हुन्, समान शिक्षा र व्यवहार गर्नुपर्दछ ।

स्वास्थ्य र समाजलाई नकारात्मक असर गर्ने मासु, जाँड रक्सी र धूमपानको सेवन नगर्नू, विदेशी कपडाको साटो स्वदेशी कपडा लाउनू, कपास खेती विस्तार गरी परम्परागत घरेलु तानबाट बुनेको कपडा लाउनू, गाउँ–गाउँ बस्ती–बस्तीमा पाठशाला खोल्नू, आफ्नो भाषा लिपि पढाउनू, याक्थुङहरूले जन्मदेखि मृत्युपर्यन्त अपनाउने कर्म संस्कारमा ठाउँ विशेष फरक–फरक भएकोले एकरूपता ल्याउने लगायतका बुँदाहरू रहेका थिए ।

सांसारिक भोग विलास त्यागेर आजीवन ब्रह्मचर्य रहेका महागुरु फाल्गुनन्द दैवी शक्ति प्राप्त थिए भनिन्छ । भुक्तभोगीहरूको भनाइअनुसार रिस उठेका बेला केही भन्दैनथे तर, वनमा डढेलो लाग्थ्यो । त्यसबाट गुरुलाई रिस उठेछ भनी चेलाहरूले थाहा पाउँथे । उनले धेरै ठाउँमा चमत्कारिक कार्यहरू गरेका थिए । तिमीहरूलाई ज्ञान बुद्धि दिन ईश्वरले मलाई पठाएका हुन् । म युमाको अवतार हुँ भनी युमाको भेष धारण गरे । याक्थुङहरूले अत्यन्त श्रद्धाका साथ पुज्ने इष्टदेवी युमाको जस्तै महागुरुले पाउमा कल्ली, महिलाहरूले लाउने पोसाक मेख्ली, कानमा नेस्से (चेप्टे सुन), शिरमा शिरबन्दी र गलामा कण्ठ लगाए । त्यसका साथमा उनले शिवजीको हतियार त्रिशूल पनि हातमा लिए ।

आफ्नो जीवनकालमा लिम्बुवानको विभिन्न ठाउँमा कुटी र मन्दिर स्थापना गराए । जीवनभर ध्यान तपश्या र ज्ञान, उपदेश बाँड्दै सेतो मेख्ली, साधुको भेषमा गाउँ बस्ती घुमे डुले र वि.सं. २००५ सालमा उनले सांसारिक जीवन त्यागे र सदाका लागि ईश्वरमा लीन भए । संसारमा यस्ता त्यागी युगपुरुषहरू विरलै जन्मिन्छन् । समाजप्रतिको अगाध प्रेम, योगदान र निष्ठालाई कदर गर्दै उनको पथ अनुशरण गर्ने भक्तहरूको सङ्ख्या अहिले दिन प्रतिदिन बढ्दो छ । राज्यले महागुरु फाल्गुनन्दको सम्मानमा हुलाक टिकट प्रकाशित गरेको छ भने २०६६ सालमा राष्ट्रिय विभूति घोषित गरेको छ । हरेक साल कात्तिक २५ गते लिम्बुवानका विभिन्न स्थानमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ भने सयौंको सङ्ख्यामा विभिन्न स्थानमा सालिक निर्माण गरिएको छ ।

पल्टन जाँदाको फलामसिंह लिङ्देन कसरी गुरु फाल्गुनन्द भएर फर्किए भन्ने धेरैमा कौतुहलता छ । कतिपय विद्वत्वर्गका अनुसार बाल्यकालदेखि नै शान्त र ईश्वरभक्तिमा लीन रहने ध्यानी फलामसिंहले पल्टनमा पहिलो विश्वयुद्धको दर्दनाक नरसंहार देखे, भोगे । दुर्भाग्यवश फलामसिंह पल्टनमा रहेकै समयमा पहिलो विश्वयुद्ध मच्चिएको थियो र त्यो संसार हल्लाउने युद्धको घानमा उनी परे । अहिंसावादी उनी त्यो विभत्स नरसंहारबाट विरक्तिएर नाम कटाई शान्तिको खोजीमा निस्के । अहिंसा र शान्ति खोज्दै जाँदा बर्मामा जसमनी सन्त शशीधरका चेला मधुनन्दसँग उनको भेट भयो । तिनै जसमनी सन्त मधुनन्दबाट दीक्षित भई फलामसिंहबाट फाल्गुनन्दमा परिणत भए । फाल्गुनन्द भएर भारतको विभिन्न भाग हुँदै आफ्नो जन्मस्थान चुक्चिनाम्बा गाउँमा आइपुगे । पक्कै पनि विभिन्न मुलुक घुमेर देखे जानेका फलामसिंहले त्यहाँका मानिसहरूको उन्नति प्रगति देखे, नियाले र आफ्नो समाजसँग तुलना गरे । तर, आफ्नो समाज धेरै पछौटेरूपमा पाए र त्यहीँबाट प्रारम्भ भयो आप्mनो समाज बदल्ने सपनालाई वास्तविकतामा रूपान्तरण गर्ने अभियानको सुरुवात ।

महागुरु फाल्गुनन्दको समाज बदल्ने वर्णशङ्कर संस्कार सत्यहाङ्मा पन्थका अनुयायीहरू बढ्दैछन् । तथापि त्यहीरूपमा आलोचकहरू पनि सतहमा आउँदैछन् । कतिपय कुराहरू स्वागतयोग्य भए तापनि हिन्दु जसमनी साधु विधि, कर्मकाण्ड र संस्कार भिœयाइएकोमा उनीहरूको विरोध छ । वास्तवमा महागुरुले सुधारवादी हिन्दुशैली अपनाएको कुरा प्रायःले भन्ने गरेका छन्, जसले याक्थुङहरूको परम्परागत मौलिक धर्म, संस्कार संस्कृतिलाई चुनौती दिएको छ र कालान्तरमा पहिचान नष्ट पार्छ भन्ने चिन्ता पनि । फाल्गुनन्दलाई कतिपयले देवत्वकरण गरेर अतिशयोक्तिपूर्ण रूपमा प्रस्तुत गरेका छन् भने कतिले राक्षसीकरण गरेर दुत्कारेका छन् । समाज र राष्ट्रका लागि यी दुवै अतिवाद हानिकारक छ । मानिसलाई पृथक् अस्तित्व र पहिचानको रूपमा जीवन्त राख्ने भनेकै परम्परागत संस्कार र संस्कृतिले हो । त्यो नै समाप्त भयो भने भौतिक उन्नतिले मात्र सन्तुष्टि मिल्दैन । जीवनको पूर्णता र सार्थकता पनि होइन । उनले समाज सुधारको नाममा भिœयाएको जसमनी परम्परा संशोधन गर्नैपर्छ र मौलिकतासँग नजोडी हुन्न । यो विवाद गरिबस्ने विषय नै होइन । यसतर्फ अनुयायीहरूले सोच्न जरुरी छ भने आलोचकहरूले स्वस्थ ढङ्गले बहस गर्नुपर्छ ।

यो त हाम्रो पो त, उहिले हाम्रो थियो, हिन्दुहरूले हाम्रो लगेर सिकेका हुन्जस्ता बनावटी कुरा कसरी र कसले सुरुवात ग¥यो ? आश्चर्यको कुरा छ ! शङ्ख फुक्ने, यज्ञ गर्ने, चरु पोल्नेलगायतका जसमनी कर्मकाण्ड हामी किरातीहरूको हो, हिन्दुहरूले हाम्रो नक्कल गरेका हुन् अथवा हाम्रो धर्मसंस्कार हिन्दुहरूले लगेका हुन् भनेर याक्थुङ समुदायमा भ्रामक प्रचार गरिँदैछ । यो सरासर गलत र आत्मघाती कदम हो । सत्यहाङ्माहरूले अभ्यास गरिरहेको संस्कार बिल्कुल नयाँ र हिन्दुबाट आयातित हो भन्ने कुरा संसारलाई थाहा छ । यो कुनै कोणबाट पनि पुष्टि हुन सक्दैन । पुष्टि नै हुन नसक्ने बनावटी कुरा गर्नुभन्दा सत्य के हो खोजी गर्नु वेश हुन्छ । उनका कतिपय कुरा फिल्टर गरेर मात्र समाजमा लागू गर्नु नै हितकर हुनेछ ।
(लेखकः कुरुम्बाङ भाषाविज्ञानका विद्यार्थी र लिम्बू भाषासेवी हुन् ।)