विजयपुर । दशैं नजिकिएसँगै बजारमा भीडभाड बढ्न थालेको छ । तर, यसपटक दशैं आइसक्दा पनि व्यापार भने बढ्न नसकेको व्यापारीहरूको भनाइ छ ।

धरान–१२ स्थित शिव एण्ड ब्रदर्श कपडा पसलका सञ्चालक कृष्ण श्रेष्ठ दशैँ लागे पनि व्यापार निराशाजनक नै रहेको बताउँछन् । उनी भन्छन्, ‘लत्ताकपडाको व्यापार छैन । खाद्यान्नमा राम्रै होला ।’ आर्थिक मन्दीको प्रभाव हो भन्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘पहिले ८–९ जना श्रमिक राख्ने गरेको थिएँ । ३ वर्षदेखि ४ जनालाई पनि काम छैन ।’

धरान–२ देशीलाइन बजार व्यवस्थापन समितिका अध्यक्ष तथा ए.एन. फुटवेयरका सञ्चालक गङ्गाप्रसाद राई व्यापार निराशाजनक रहेको बताउँछन् । उनी भन्छन्, ‘दशैँ आयो तर, व्यापारमा दशैँ आएन ।’ उनी धरानको बजारमा सहकारीले गरेको अपचलनको प्रभाव परेको बताउँछन् । मूल्य वृद्धिले गर्दा उपभोक्ताको क्रयक्षमतामा ह्रास आउनाले पनि व्यापार बढ्न नसकेको उनको बुझाइ छ ।

अमित कपडा पसलका सञ्चालक दिलिप साह पनि अपेक्षाकृत व्यापार नभएको बताउँछन् । उनी भन्छन्, ‘धरानमा सहकारीहरूको अपचलनका कारणले पनि उपभोक्तासँग पैसा छैन । पैसा नभएपछि खरिद गर्न आएनन् । त्यसैले व्यापार बढेन ।’

उनले कोरोनाकालको दशैँभन्दा पनि व्यापारमा गिरावट आएको बताए । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले दशैँ भित्रिए पनि व्यापारमा दशैँ नआएको बताए । उनी भन्छन्, ‘खरिदबिक्रीको अवस्था नाजुक छ ।’ उनी दशैँमा व्यापार वृद्धि नहुनुमा २ वटा कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलो सहकारीहरूले ठूलो रकम अपचलन गर्नु र अर्को बैङ्कको ब्याजदर हो ।’

सहकारीबाट आउने ब्याजबाट जीविकोपार्जन गर्नेहरू धेरै भएकाले सहकारीले पैसा नदिएपछि व्यापार नबढेको उनको अनुमान छ । उनले बैङ्कले विगतमा कारोबारको ६० प्रतिशत ऋण दिने गरेकोमा हाल २० प्रतिशतमा मात्रै दिनाले व्यापारीहरूले पनि सामान खरिद गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘धरानको व्यापारमा सहकारीको असर हो भने अन्यमा क्षेत्रमा बैङ्कको ब्याजदरका कारणले बढेन ।’

अर्थविज्ञ डा. राजेन्द्र शर्मा धरानको व्यापारमा गिरावट आउनुमा प्रमुख ३ कारण रहेको बताउँछन् । पहिलो मुलुकको गिर्दो आर्थिक अवस्थाका कारण सबैतिर समस्या बढेको, दोस्रो वराह सहकारीमा धरानेको अर्बौं रुपैयाँ फसेको र तेस्रो रेमिट्यान्समा आएको गिरावटको असर पनि रहेको बताउँछन् ।

अर्थव्यापारसम्बन्धी जानकार कृष्ण अग्रवाल पनि धरानको व्यापारमा गिरावट आएको बताउँछन् । उनी ब्याजदर, महँगी, कारोना, डेङ्गुजस्ता कारणलेमुलुककै व्यापार घटेको बताउँछन् । उनी धरानको व्यापारमा सहकारीहरूले निक्षेप फिर्ता नगर्दा गिरावट आएको बताउँछन् । उनी भन्छन्, ‘सहकारीहरूले निक्षेपकर्ताको रकम फिर्ता गरेनन् । जसका कारणले उपभोक्ताको क्रयशक्तिमा गिरावट आएको छ ।’

bazar