धरान । दशैंको अवसरमा नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रमका लागि धरानका गायकहरू दुबई प्रस्थान गरेका छन् ।

धरान हेल्पिङ हेन्ड्सले आगामी शनिबार दुबईमा आयोजना गर्ने ‘दशैं साङ्गीतिक साँझ’ का लागि गायक डिल्ली फोम्बो, प्रशान्त शर्मा र मनोज मोते बुधबारै दुबई पुगिसकेका छन् ।

शिक्षाका लागि सङ्गीत अभियानसमेत सञ्चालन गरिरहेका उनीहरूले दुबईको याक एन्ड यति एभरेष्ट होटलमा आयोजना हुने कार्यक्रममा गाउनेछन् । उनीहरूसँगै काव्या ब्यान्डको पनि साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

लामो समय एउटै ब्यान्डमा रहेर साङ्गीतिक यात्रा गरेका फोम्बो र शर्मा पछिल्लो समय बेग्लाबेग्लै समूहबाट गीत–सङ्गीतमा सक्रिय छन् तर, उनीहरू दुवै शिक्षाका लागि सङ्गीत अभियानमा सँगै काम पनि गरिरहेका छन् । गायक मोते पनि धरानका विभिन्न समूहहरूमा रहेर लामो समयदेखि सङ्गीत कर्म गरिरहेका छन् ।

दशैं नजिकै आएका बेला दुबईमा रहेका नेपाली समुदायसँग साङ्गीतिक कार्यक्रममा रमाउन पाउनु आफ्ना लागि शौभाग्य भएको गायक शर्माले बताए ।