धरान । चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिएका दश जनामध्ये कसले बाजी मार्ला ? भन्ने चर्चा परिचर्चा छ । अध्यक्षका उमेदवारहरू आफूनिकटका राजनीतिक दलका नेता, कार्यकर्ताको घरदैलो चहारिरहेका छन् ।

अध्यक्षका प्रमुख दाबेदारमध्येका एक पुराना अभिनेता भुवन केसी भने आवेदन दिएपछि पुनः चर्चासँगै विवादमा तानिएका छन् । हुन त भुवनका लागि विवाद यो नयाँ विषय होइन । तर, बोर्डको अध्यक्षजस्तो पदका दाबेदार भएपछि उनीमाथि नैतिकताको प्रश्न उठाइएको छ । पहिला बोर्डको अध्यक्ष बन्नका लागि एमालेमा प्रवेश गरेका केसी यसपटक त्यसैका लागि काङ्ग्रेसमा प्रवेश गरेका छन् । उनी अध्यक्ष पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवादेखि विभिन्न नेताहरूको दैलो चहारिरहेका छन् ।

सम्झना, मायालु, कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति, सुपरस्टार सफल चलचित्रका अभिनेता भुवन विभिन्न विवादमा पर्दै आएका छन् । केही वर्षअघि एक युवतीले भुवनले आफूलाई दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा मि टु अभियान चलाएकी थिइन् । भुवनकै छोरा अनमोलसँग अभिनय गरेकी एक अभिनेत्रीले पनि भुवनले ‘ह्यारासमेन्ट’ गरेको अभियोग लगाएकी थिइन् ।

भुवनका प्रेम र विवाद त गनि साध्य छैनन् । केही वर्षअघि एक युवतीसँग प्रेम सम्बन्धमा रहेका भुवनलाई कोटेश्वरमा ती युवतीका श्रीमान्ले कुटपिट गरेको खबर सार्वजनिक भएको थियो । नेपाली चलचित्रका धेरै जना नायिकासँग पनि दुव्र्यवहारसम्बन्धी विवादमा भुवन पटक–पटक मुछिँदै आएका छन् ।

भुवन पछिल्लो समय अभिनेत्री जिया केसीसँग लिभ–इन टुगेदरमा रहेको चलचित्र क्षेत्रका सबैलाई थाहा छ । यसअघि अभिनेत्री सुस्मिता बमजनसँग पनि प्रेमविवाह गरेका थिए । दोस्रो श्रीमती सुस्मितासँग भुवनले केही वर्षअघि वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए । भुवन र सुस्मिताका छोरा अनमोल अहिले चलचित्र क्षेत्रमा चर्चामा छन् ।

भुवनकी पहिलो श्रीमती विजया केसी एक छोरा र एक छोरीका साथ अमेरिकामा बस्छिन् । प्रेम, विवाह र विवादका नामुद केसी चलचित्रको सुटिङ सेटमा पनि झगडा गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । यस्ता विवादै विवादमा परिरहने भुवन बोर्डको अध्यक्षका दाबेदार बनेपछि उनका पुराना काण्डहरू फेरि चर्चामा छन् । उनीमाथि नैतिकताको प्रश्न उठाउँदै कतिपय चलचित्रकर्मीहरू यस्ता विवादित व्यक्ति बोर्डको अध्यक्ष बन्न नहुने भन्दै विरोधमा देखिएका छन् ।