धरान । मिस धरानको पहिलो अडिसन धरानमा शनिबार सम्पन्न भएको छ ।

फ्रेन्डस् गार्डेनमा सम्पन्न अडिसनमा १९ जना युवतीहरू सहभागी थिए । आयोजकले कम्तीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका युवतीहरू पनि सहभागी हुन पाउने अवसरसहित प्रतियोगिता गरिरहेको छ ।

फेसन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता भैरहेको हो । अडिसनमा मिस पूर्वाञ्चल २०१६ की फस्ट रनरअप इक्सा मादेन, मिस तामाङ २०१९ की प्रदेश १ विजेता प्रोजिता तामाङ, मिस टुरिजम २०१७ की विजेता चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ तिगेला निर्णायक रहेका थिए ।

बुधबार दोस्रो अडिसन गरेर मिस धरान २०२२ को बन्द क्याम्प गरिने आयोजकले जनाएको छ । प्रतियोगीको व्यक्तित्व विकास, फेसन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवकलगायतबारे तालिम दिइनेछ । फाइनल प्रतिस्पर्धा साउनको दोस्रो साता गरिने भएको छ ।