धनकुटा । दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाले आफ्नै लगानीमा गाईजात्रामा प्रयोग गरिने गाईको मुकुट (साःख्वापा)  निर्माण गर्ने २ दिने तालिम धनकुटा–४ मा शनिबारदेखि सुरु गरेको छ ।

युवा पुस्तामा साःख्वापा (गाईजात्रामा लगाउने गाईको मुकुट) बनाउने चलन हराउँदै गएकाले स्थापित गराउने उद्देश्यले दुर्गा लक्ष्मी परोपकार संस्थाले निःशुल्क २ दिने तालिम आयोजना गरेको हो । तालिमको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले समुद्घाटन गरे । उनले हरेक जातिले आ–आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

परोपकार संस्थाले नेवारी समुदायको संस्कृति गाई जात्रामा लगाउने मुकुट बनाउने तालिम युवापुस्तामा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै तालिम आयोजना गर्नु आफैमा राम्रो विषय भएको प्रमुख तामाङले बताए ।

दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाका अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न २ दिने साःख्वापा बनाउने तालिममा नेवाः देय् दबूका पूर्व केन्द्रीय उपाध्यक्ष नवीनकिशोर शाक्य, नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका सचिव एवम् नेवाः देय् दबू धनकुटा जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधान, नगर महासङ्घका अध्यक्ष रविन खड्गी, दुर्गा लक्ष्मी परोपकार संस्थाका केन्द्रीय सदस्यहरू लीला श्रेष्ठ, महेशप्रसाद श्रेष्ठ, पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठलगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले नेवारी समुदायको संस्कृति र पहिचान जोगाउन दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाले ठूलो योगदान गरेको चर्चा गरे ।

पहिला पहिला बाँसको चोयाको मोहोलामा शृङ्गारको सामग्रीले सजाएर साःख्वापा बनाउने प्रचलन थियो भने हिजोआज कागज वा कार्टनको बनाउने चलन छ ।  नेवारी भाषामा गाईको मुकुटलाई साःख्वापा भन्ने गरिन्छ । यो वर्ष स्वर्गारोहण भएको हरेक घरबाट गाईजात्रा निकाल्दा एक–एक जोर साःख्वापा लगाएर बजार परिक्रमा गर्ने परम्परा छ । यो परम्परा राजा प्रताप मल्लको पालादेखि चलिआएको बताइन्छ । 

दुई दिने तालिमको सहजीकरण मूर्तिकार एवम् वरिष्ठ चित्रकार श्रीकृष्ण जोशी र समासेवी कल्पना श्रेष्ठले गरिरहेका छन् । तालिममा धनकुटा–४ देब्रेबासका २५ जना नेवारी समुदायका युवाहरूले भाग लिइरहेको दुर्गा लक्ष्मी परोपकार संस्थाका सचिव कमल श्रेष्ठले बताए ।